|

भूपेन्द्र खड्काले गीत संगीतका दर्शकमाझ गीतकार, रेडियो सुन्ने श्रोतामाझ सञ्चारकर्मी र पाठकमाझ प्रकाशकका रूपमा पहिचान बनाएका छन्। विगत २० वर्षदेखि उनी सञ्चारकर्मीको रुपमा आवद्ध छन्। भेटिएर छुट्नु भन्दा‚ संगी, स्कलु पाठशालाजस्ता चर्चित गीतसहित चलचित्रमा ५० र अन्य गरेर ४०० भन्दा बढी गीतमा उनले शब्द खिपेका छन्।

उनी आठ वर्षदेखि प्रकाशकको भूमिका पनि छन्। उनले बुकहिल पब्लिकेशनमार्फत देश र विदेशमा पुस्तक प्रकाशन गर्दै आएका छन्, जसले पाठक र लेखकबीचको पुलको काम गरिरहेका छन्। पुस्तकसँग नजिक रहेका खड्कासँग पुस्तक पठन संस्कृति, पुस्तकसँग उनको व्यक्तिगत अनुभवबारे थाहाखबरकर्मी राजु पौडेलले बुझ्ने प्रयास गरेका छन्।

ठट्टाबाट कुराकानी सुरु गरौं क्यार, कहिल्यै पुस्तक चोर्नुभएको छ?

निक्कै पहिले एक विद्वानको घरबाट मलाई मन परेको कविता संग्रह चोरेको थिएँ। अनुमति मिल्यो भने त्यो पुनःप्रकाशन गर्ने सोचमा छु, जसका केही कविताहरू मलाई कण्ठ छन्। नाम चाहिँ भन्दिनँ।

सञ्चारकर्मी, प्रकाशक र गीतकारसँग एक पुस्तक प्रेमी पाठकको कस्तो सम्बन्ध हुनुपर्छ वा छ?

मलाई लाग्छ पुस्तक जुनसुकै पेसाका मानिसका लागि अनिवार्य वस्तु हो। अझै सञ्चारकर्मीले आफ्नो ज्ञानको दायरा बढाउन बढीभन्दा बढी पढ्नै पर्छ। प्रकाशक र गीतकारलाई त झन् जरुरी नै छ। तपाईं जति असल पाठक हो, त्यति नै असल मानिस पनि हो।

जीवनको पहिलो पुस्तक कुन थियो? जसले पठन यात्राको ढोका खोलिदियो?

सानोमा श्रीस्वस्थानी व्रतकथा पढें। त्यसपछि रामायण‚ ९ कक्षामा पुग्दा गुरुप्रसाद मैनालीको 'कर्तव्य' कथा पढ्नु पर्थ्यो। तर मैले त्यो 'नासो' कथा संग्रहका ११ कथा पढिसकेको थिएँ। त्यही नासो नै मलाई साहित्यमा रस बसाल्ने पुस्तक थियो। अहिले प्रकाशक भएर त्यसको पुनःप्रकाशन पनि गरेँ।

उमेरअनुसार पढ्ने पुस्तकमा पनि परिवर्तन हुन्छन्। बाल्यकाल‚ किशोर र युवा अवस्थामा कुन कुन ‘जनरा’का पुस्तकले आकर्षित गरे? 

सानोमा बालसाहित्य पढ्न पाइएन। किनकी‚ मैले पढ्ने सरकारी विद्यालयमा पुस्तकालय थिएन। किशोरावस्थामा प्रकाश कोविद, वसन्त, युधीर थापाका उपन्यास पढियो। सिनेमा र टिभीको मनोरञ्जन तिनै उपन्यासबाट लिइयो। अहिले जीवन, जगत, समाज, संस्कृति, इतिहास, भूगोललगायत विषयका गैरआख्यान र गम्भीर आख्यान मन पर्छ।

कुनै पाठकलाई पुस्तक तब मन पर्छ, जब उसले आफ्नो रुची पुस्तकभित्र प्राप्त गर्छ। तपाईंका पुस्तक छनोटका सीमाहरू के के हुन्?

पहिला समीक्षा पढेर अलि अलि छनोट हुन्थ्यो। अहिले समीक्षा मर्‍यो। कहिले कसैको सिफारिसमा पढिन्छ। कुनै पुरस्कार पाएपछि कस्तो रैछ भन्ने आधार पनि हुन्छ। साथै अहिले नयाँ मिडियामा चर्चा आउँछ। प्रकाशक भएकाले विश्व बजारमा आउने पुस्तकबारे पनि थाहा भइसक्छ।

पुस्तक के हो? के होइन?

यो दामी प्रश्न हो। जीवनका लागि साध्य हो, साधन होइन। जति कुनै चिजको लतको अवस्था हुन्छ, पुस्तक पढ्नेको अवस्था पनि त्यसैमा समर्पित हुन्छ। मार्क्सले छोरीको औषधि लिन हिँडेका बेला लाइब्रेरीमा पसेर सबै बिर्से, जब उनले सम्झे, छोरीको मृत्यु भैसकेको थियो। यस्तो पो हुन्छ त पुस्तकको लत। मेरा लागि नशा मात्र होइन, अब सबथोक हो।

फुर्सदमा पुस्तक पढ्छु भन्ने कहावत सुनिन्छ। फुर्सदपछिको पुस्तक हो वा पुस्तकका लागि फुर्सद निकाल्नुपर्छ?

यो सब वाहियात कुरा हो। फुर्सदमा अरु काम गर्ने हो। अरु सबै बेला पुस्तक पढ्ने हो। मेरो साथमा पुस्तक छुट्दैन। आजकल त मलाई पुस्तकबिनाका मानिस मानिस जस्ता लाग्दैनन्। यो मेरो पेशाले पनि त्यस्तो भएको हुन सक्छ।

पुस्तकसँग जोडिएका कुनै एउटा रोचक किस्सा?

ग्रीष्मबहादुर देवकोटाको किताब 'नेपालको राजनीतिक दर्पण'को पुनःप्रकाशनका लागि उहाँका छोरासँग पनि भाग-१ र २ नभेटिएपछि तनाब भएको थियो। बुटवल पुगेका बेला लेखक लाहुरे जंगबहादुर शाहको घरको पुस्तकालयमा ती किताब देख्दा मेरो मन यति खुशी भएँ कि मैले मागेँ। उहाँले दिनुभयो। काम गर्दै गरेको १ वर्ष भयो, सकिन कति लाग्छ थाहा छैन।

उहाँले अहिले पनि फोन गरेर ती किताब चाँडो नफर्काए तँलाई गोली हान्छु भन्नुहुन्छ। यो सम्झिँदा बडो रमाइलो लाग्छ। अनि पुस्तक विमोचनको धेरै उद्घोषण गर्ने पनि मै हुँ जस्तो लाग्छ। अनि, २०३९ सालमा बजारबाट फिर्ता लगेको दमनराज तुलाधरको आत्मकथा हामीले गत वर्ष निकाल्यौँ। साझा प्रकाशन आफूले थन्काएका किताब निकालेर बेच्यो। कति हाँस्नु !

उमेर र क्षेत्रअनुसार पुस्तकको रुची फरक हुन सक्छ। तर, अहिलेको पुस्ताले पढ्नै पर्ने पुस्तकको सूची भन्नुपर्‍यो भने कुन कुन पुस्तक दिमागमा आउँछन्?

पूर्वीय दर्शनका सबै किताब- गीता, रामायण, महाभारत। चाणक्य नीति, खप्तडबाबाका सबै किताब। पारिजात, शंकर लामिछाने, गोपालप्रसाद रिमाल, भूपि, गोविन्द मल्ल गोठाले, विजय मल्ल, धच गोतामे, सरुभक्त, ईश्वर वल्लवलगायतका किताबका साथै अहिलेको पुस्ताका लेखकका चुनिएका किताब। अंग्रेजी साहित्यमा त महासागर नै छ, अहिले मैले बोर्खेजको नन-फिक्सन अलिअलि पढ्दै छु।

पढ्दै गर्दा कास यो पुस्तक मैले लेख्न पाएको भए भनेर लोभ लागेको कुनै पुस्तक छ?

डा. ध्रुवेशचन्द्र रेग्मीद्वारा लिखित प्रकाशोन्मुख पुस्तक 'नेपाली संगीत दरबार'। सायद यत्तिको संगीतको इतिहास नेपालमा लेखिएको छैन।

पुस्तक नपढेकाले पनि एकबारको जीवन चलाइरहेका छन्। तपाईंको हकमा पुस्तक नभएको भएपनि जीवन चल्थ्यो कि अरु केहि हुन्थ्यो?

जीवन चल्थ्यो तर चल्थ्यो मात्रै: सासदेखि लाससम्म !

सबै पाठकले पुस्तक किन्न सक्दैनन्। हामी सबैको हकमा पनि यो लागू हुन पनि सक्छ, नहुन पनि सक्छ। तपाईं पनि विभिन्न पुस्तकालयको यात्रा पक्कै गर्नुभएको छ। मन परेको पुस्तकालय?

सबैले र मैले पनि सबै पुस्तक (आफूलाई मन परेका पनि) किन्न सम्भव हुँदैन र एक जूनीमा पढेर पनि सकिन्न। मैले घुमेकामध्ये मपु गुठीको पुस्तकालय, केशर पुस्तकालय नै हुन्। नर्वेमा २००९ मा नेशनल लाइब्रेरी अफ नर्वे पुगेको थिएँ, जहाँ लाखौँ पुस्तक मात्रै थिएनन्, काम गर्ने कर्मचारी पनि ४०० भन्दा बढी छन् भनेर जानकारी गराइएको थियो।

पुस्तकका रुपमा होइन फिल्म वा नाटकका रुपमा आउनुपर्ने कुनै पुस्तक?

गोविन्द मल्ल गोठालेको 'पल्लो घरको झ्याल'

कुनै फिल्म छ जुन फिल्म होइन पुस्तकका रूपमा आउनुपर्थ्यो?

यज्ञशले लेखेको फिल्म 'फिटकीरी'। यो किताबमा आउनुपर्थ्यो।

हाम्रा पाठकहरू एड्भान्स भइसकेका छन्। के हाम्रा पाठक जस्तै हाम्रा पुस्तकहरू पनि पाठक रिझ्याउन सफल भएका छन्?

थोरै मात्रामा छन्। १०० वटा हाराहारीभन्दा राम्रा किताब छैनन् होला।

अहिले गरिने पुस्तक समीक्षामा समीक्षक इमान्दार छन् कि पाठक झुक्याउने अस्त्रका रुपमा प्रयोग भइरहेका छन्?

समीक्षा होइन, पाठक प्रतिकृया मात्र आजकल आउँछन्। आजकल लेखनमा जस्तै समीक्षामा पनि इमान हरायो।

अन्त्यमा अहिले कुन पुस्तकसँग यात्रा गरिरहनुभएको छ?

नेपालीमा ईश्वर वल्लवको कथा संग्रह 'नीलो माटो' पढेर सकेँ। हिजोबाट अमर्त्य सेनको मेमोइर 'होम इन द वर्ल्ड' सुरू गरेको छु।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.