|

धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँमा रहेको मधुगंगा महादेवधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरिएको छ। संघीय सरकारको तनि करोड ७० लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माण सुरु गरिएको हो। 

धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेको थियो। पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिम सिंह जेबीले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको छ। निर्माण कम्पनी थेगिम सिंह जेबीले आगामी २०८० साल असार मसान्त सम्ममा निर्माण सम्मन्न गर्ने गरी जिम्मा पाएको छ। सरकारी कार्यालय र स्थानीयको सहयोग भएमा समयमै काम सम्पन्न गर्न समस्या नहुने निर्माण कम्पनीका सञ्चालक रणधिर तुम्बाले बताए। उनले समय समयमा भुक्तानी भएमा काम गर्न कुनै समस्या नरहेको उनको भनाइ छ। 

धाममा सानाठूला गरी ८७ वटा संरचना निर्माण गरिने धनकुटा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष चन्द्रलाल तामाङले बताए। उनका अनुसार धाममा प्राकृतिक सिंढी, पूजा तथा होम गर्ने ठाउँ, पोखरी, शिव मन्दिर, नौवटा ढुंगेधारा, व्यापारिक भवन, सडक, शौचालय, पूजारी घर निर्माण गरिने वडाध्यक्ष तामाङले बताए।

पूर्वाधार निर्माणको शिलान्यास गर्दै प्रतिनीधिसभा सदस्य राजेन्द्रकुमार राईले मधुगंगा प्रदेश १ कै आस्थाको केन्द्र रहेकाले धार्मिक तथा पर्यटकीय रुपमा विकास गर्न लागिएको बताए। 

यस्तो छ इतिहास

यस धाममा हरेक वर्ष मंसिरे पूर्णिमाको अवसरमा पाँच दिन मेला लाग्ने गर्दछ। साउन महिना र माघे संक्रान्तिमा पनि भक्तजनको घुइँचो हुने गरेको छ। 

यो धाममा ६० फिट अग्लो झरनाको सँगै करिब ६० फिट लामो प्राकृतिक गुफा रहेको छ। पौराणिक कालमा मधु र गंगा दुईजना आएर महादेवको खोजी गरेपछि प्रकट भएको जनश्रुति छ। त्यसपछि पुजारी हुन्छु भन्दै धेरै मानिस अघि सरे पनि ती मधु र गंगाले अलि पर रहेका एक जना राई थरका मानिसलाई पूजारी बनाएको कथन रहेको पुजारी जमानध्वज राई बताउँछन्। राईका अनुसार हालसम्म तिनै पूजारीका पुस्ता नै धामको पूजारी भएका छन। उनले आफूले धामको पूजारी भएर काम गरेको ४४ वर्ष भएको बताए। 

प्रचारप्रसार नहुँदा ओझेलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा मधुगंगा धाम ओझेलमा परेको थियो। प्रचार प्रसारकै आभावमा जिल्ला सदरमुकाम नजिकै रहेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल मधुगंगा ओझेलमा परेको स्थानीय मदन थापाको भनाइ छ। 

यो ठाउँलाई कसै कसैले धनकुटाको पशुपति नाथ पनि भन्छन्।सो स्थानको बारेमा जानकारी भएकाहरु पितृ श्राद्ध र विभिन्न धार्मिक कार्यक्रम गर्न आउने गरेका छन्। यो स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न थालिएको प्रयासले सार्थकता पाए सुनमा सुगन्ध थपिने अर्का स्थानीय अशोक राईले बताए। 

डिपिआर अनुसारको काम हेरेर धनकुटा नगपालिकाले थप काम गर्ने धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए। उनले काम कस्तो भइरहेको छ भनेर स्थानीयले नियमित अनुगमन गर्नुपर्ने र आफूहरुले हरपल सहयोग गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.