|

बेलायतमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएपछि यसको जिम्मा सेनालाई दिइएको छ। सरकारले सोमवारदेखि सैनिक अधिकारीले बेलायतभर पेट्रोलियम पदार्थ पुर्‍याउने जानकारी दिएको छ। 

करिब २ सय सैनिकलाई यो काममा खटाइने बताएको छ। सन् २०२२ को मार्चसम्म ३ सय विदेशी ट्यांकर चालकले पेट्रोलियम पदार्थ आपूर्ति गर्ने जानकारी दिएका छन्। 

अधिकारीले सामान्य रूपमा पेट्रोलियम पदार्थको कारोबार हुने हो भने कमी नभएको दाबी गरेका छन्। विगतको भन्दा आपूर्तिमा केही सुधार आएको उनीहरूको भनाइ छ। आरएसी मोटरिङ ग्रुपले भने बेलायतमा पेट्रोलियम आपूर्तिमा थुप्रै समस्या रहेको स्पष्ट पारेको छ।

साना पेट्रोल पम्पमा बढी समस्या देखिएको छ। पेट्रोल वितरणका लागि सैन्य अधिकारीले तालिम लिइरहेको र छिटै उनीहरू सडकमा आउने रक्षामन्त्री बेन वालेसले जानकारी दिएका छन्। वालेसले भने‚ 'सैनिकले यो साता तालिम पूरा हुनासाथ चालकसँग मिलेर काम गर्नेछन्।'​

रिफाइनरीबाट पेट्रोल पम्पसम्म पेट्रोलियम पदार्थ पुगाउन अवरोध खडा भएको छ। अत्यधिक संख्यामा ट्रक सडककिनारमा थन्काइएका छन्। ती ट्रक चलाउन सक्ने कोही छैन। यसै कारण पूरै देशभर पेट्रोलियम पदार्थ कमी भई हाहाकार मच्चिएको हो।

गत सातासम्म ९० प्रतिशत पेट्रोल पम्प खाली थिए। गत आइतबार कैयौँ पेट्रोल पम्पलाई सुक्खा गर्दै बन्द गर्नुपरेको थियो। ग्याँस स्टेशनको पनि उस्तै हालत छ। अभाव हुन थालेसँगै बेलायती नागरिकले पेट्रोलियम पदार्थ खरिदमा जोड दिन थालेका हुन्।

यसले पेट्रोलियम पदार्थ पाइने पम्पमा अराजक स्थिति बनेको हो। पेट्रोलियम पदार्थको कमीका खाद्यान्नका साथै यातायात प्रणालीमा पनि खराब असर परेको हो। अर्थशास्त्रीहरूले यसको प्रभाव बेलायती अर्थतन्त्रमा देखापर्ने भन्दै गम्भीर हुन चेतावनी दिएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जन्सनको सरकारले प्राकृतिक ग्याँसको मूल्य बढेकाले खाद्यान्नमा देखापरेको अभाव रोक्न लाखौँ पाउण्ड खर्चने घोषणा गरेको छ।

बेलायतमा पेट्रोल पम्प विक्रेताको संगठन पेट्रोल रिटेलर्स एसोसिएशन (पीआरए)ले शुक्रवार कैयौँ क्षेत्रमा ६० देखि ९० प्रतिशत पम्प बन्द गर्नुपरेको बताएको थियो। डिजल-पेट्रोल र ग्याँस सकिएको र आपूर्ति नभएपछि कुनै विकल्प नभएको पीआरएको भनाइ छ।

बेलायतमा ट्रकचालकको कमी भएपछि यो समस्या देखापरेको हो। ब्रेक्जिट (इयूबाट बाहिर निस्कने काम)पछि बेलायतमा ट्रकचालकको कमी भएको हो। यसले गर्दा बेलायतको आपूर्ति प्रणालीमा समस्या उत्पन्न भएको हो। बेलायतमा इयूका नागरिकले यस्ता काम गर्दै आएका थिए। उनीहरूले बेलायतमा बसोवास गर्न काम गर्न कुनै अनुमति लिनुपर्दैनथ्यो। ब्रेक्जिटसँगै यो व्यवस्था परिवर्तन भएपछि उनीहरूले बेलायत छोडेका छन्।​

ट्रकचालक, ग्याँस स्टेशन र पेट्रोल पम्प विक्रेताले सेनालाई पेट्रोलियम पदार्थ बाँड्न लगाएर कुनै फाइदा नहुने चेतावनी दिएका छन्। बेलायतमा न्यूनतम १० हजार ट्रकचालक अभाव भएको र त्यो विदेशबाट ल्याएर व्यवस्था गर्नुपर्ने उनीहरूले माग गरेका छन्। नयाँ ट्रकचालक उत्पादन गर्न तालिमका साथै लाइसेन्स दिनुपर्ने माग गरेका छन्।

बेलायतमा ३०० विदेशी ट्यांकर चालकलाई अस्थायी रूपमा काम गर्न दिइनेछ। यसैगरी खाद्यान्न ढुवानी गर्ने ४;७०० चालकलाई अस्थायी रूपमा अक्टोबर अन्तिमसम्म बेलायत आउन अनुमति दिइएको बताएका छन्। यसैगरी ५;५०० कुखुरापालक यसै महिनाको अन्त्यसम्म आइपुग्ने बताइएको छ। कुखुरापालकलाई यो वर्षको अन्त्यसम्म काम गर्न दिइनेछ।

पेट्रोल रिटेलर्स एसोसियशनका अध्यक्ष ब्रायन म्याडर्सनले यो लण्डन र दक्षिण पूर्व बेलायतमा साह्रै भयावह स्थिति भएको बताए। उनले भने‚ 'सैनिक परिचालन गरिनु ठूलो सहयोग हुनेछ।' यस्तै अवस्था रहे अर्को साता इन्धनको मूल्य बढ्ने उनले चेतावनी दिए।

यसैगरी केही विश्लेषकले भने बेलायतमा सरकार पूरै असफल भएको बताउँदै सेनालाई यस्ता जिम्मेवारी दिइनु गलत भएको बताएका छन्। 'सेनाले पेट्रोल ट्यांकर लिएर जानुको सन्देश कस्तो जान्छ'‚ उनीहरूले प्रश्न गरेका छन्।

प्रधानमन्त्री जन्सनले ढुवानी उद्योगलाई कम ज्याला दिई आप्रवासी चालकमा भर परेको र यसबाट समस्या खडा भएको आरोप लगाएका छन्। विगतमा भएका गल्ती दोहोरिन नदिने उनले दाबी गरेका छन्। ढुवानी उद्योगले भने कोरोना महामारी‚ ब्रेक्जिटका कारण यो समस्या आएको दाबी गरेका छन्।

-बिबिसीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.