|

दाङ : कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएको दाङमा अहिले चारवटा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि पर्याप्त भएको छ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको  राप्ती प्रादेशिक अस्पताल, घोराहीमा रहेको दाङ अक्सिजन उद्योग र तुलसीपुरको दुधरासमा रहेको सोनापुर सिमेन्ट एण्ड मिनरल्सले अक्सिजन उत्पादन सुरु गरेको छ। अहिले दैनिक एक हजारभन्दन बढी अक्सिजन सिलिन्डर उत्पादन भइरहेको छ। 

प्रतिष्ठानमा दैनिक ३००, दाङ अक्सिजन उद्योगमा १७०, राप्ती प्रादेशिक अस्पतालमा १०० र सिमेन्ट उद्योगमा ५०० सिलिन्डर अक्सिजन उत्पादन भइरहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। अहिले दाङ अक्सिजनमा आत्मनिर्भर भएको उनको भनाइ छ। यहाँ उत्पादन भएको अक्सिजन  छिमेकी पहाडी जिल्ला र आवश्यकता अनुसार तराईका जिल्लाहरूमा पनि सप्लाई गर्न सकिने कुरुम्बाङको भनाइ छ। 

संघीय र प्रदेश सरकारको सक्रियता दुई अस्पतालमा र स्थानीय सरकार र निजी क्षेत्रको सक्रियतामा पनि अक्सिजन प्लान्ट सञ्चालनमा आएको प्रजिअ कुरुम्बाङले बताए। दाङमा सामान्य अवस्थामा दैनिक २०० सिलिन्डर अक्सिजन ग्यास खपत हुने गर्दछ। तर, दोस्रो लहरको कोरोना महामारीमा दैनिक एक हजार सिलिन्डर खपत भएको थियो।

अक्सिजनको माग बढेपछि  यहाँका सरकारी अस्पताल तथा निजी क्षेत्रले अक्सिजन प्लान्ट निर्माण सुरु गरिएको हो। जसले गर्दा अस्पतालमा पनि अहिले सहजै अक्सिजन उपलब्ध हुने गरेको अस्पतालहरूले जनाएका छन। प्रतिष्ठानमा पहिलो अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा आएको र दोस्रो प्लान्ट जडानको क्रममा रहेको प्रतिष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले बताइन्।

‘पहिलो अक्सिजन प्लान्टको क्षमता प्रतिदिन १०० भर्ने रहेको छ। यो साउनको १८ गतेदेखि सञ्चालनमा आएको हो,’ उनले भनिन्, ‘अब निर्माण हुन लागेकाले प्रतिदिन २०० सिलिन्डर भर्ने क्षमताको रहेको छ। अब यो पनि छिट्टै सञ्चालनमा आउँदै छ।’ 

अहिले अस्पतालमा उत्पादन भइरहेको अक्सिजन पर्याप्त मात्रामा रहेको र आइसियु, एचण्डियुमा पनि पाइपलाइनबाट सिधै अक्सिजन दिने व्यवस्था मिलाइएको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.