|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीशको कुनै पनि हात नभएको बताएका छन्। 

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले सोमबार प्रधानन्यायाधीशले मन्त्रालय बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानन्यायाधीश राणाले सो कुरा बताएका हुन्। 

‘पदमा बसेपछि कमी कमजोरी हुन्छ,’ उनले भने, ‘म आफ्नो बाटो हिँड्दा उहाँहरूलाई कुबाटो लाग्छ। यो स्वाभाविकै हुन्छ। हामीले अवहेलनामा कारबाही चलाएर पनि हुनेवाला केही पनि छैन।’ जबराले भने, ‘जोकलाई जोककै रूपमा बुझ्नुपर्छ। अरू केही होइन।’ 

हिजो आइतबार सरकारमा आफूले भनेका दुईजना मन्त्री लागि प्रधानन्यायाधीशले माग गरेको भन्ने समाचार केही सञ्चार माध्यममा आएको थियो। त्यसरी माग भएको र मन्त्रीका लागि दीपक तिमिल्सिना र गगनबहादुर हमालको नाम समेत सार्वजनिक भएको थियो।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश जबराले दुई जना नभए कम्तीमा एक जना मन्त्री बनाउन माग गरेको समाचार प्रकाशित भएपछि बारका पदाधिकारीले सोमबार बिहान उनलाई भेटेका थिए। भेटका क्रममा प्रधानन्यायाधीश जबराले आफूलाई बदनाम गर्न यस्तो सूचना बाहिर आएको प्रतिक्रिया दिए।

‘अहिलेको नेतृत्वलाई बदनाम गर्ने र ह्यारेसमेन्ट गर्ने कामहरू भइरहेको छ। अदालतभित्रबाट पनि भइरहेको छ। बाहिरबाट पनि भइरहेको छ’ उनको भनाइ उधृत गर्दै सर्वोच्च बारका एक पदाधिकारीले भने, ‘पहिले एउटामा समाचार आएको छ, अनि अरूमा आएको छ, के भएको हो मैले बुझिहालें।’

‘म हस्तक्षेप गर्दिन। मेरो विषयमा धेरैले लेखेका छन्। सार्वजनिक पदमा छु। गल्ती कमजोरी भए होलान्। त्यसलाई उजागर गरेर नागरिकसम्म लगिदिएर मलाई सुधार हुने मौका दिनु राम्रो हो।’ भन्दै प्रधानन्यायाधीश जबराले आफू स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति अति सचेत रहेको बताएका थिए। 

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित गएका पदाधिकारीले समाचार सत्य नभए खण्डन गर्न सुझाव दिए। प्रधानन्यायाधीश जबराले, ‘अस्ति राज्यले तक्मा दिँदा पनि यस्तै त लेखियो  नि ’ भन्ने प्रतिक्रिया दिए।

बारका एक पदाधिकारीका अनुसार प्रधानन्यायाधीश जबराले मन्त्री सिफारिसका लगि प्रस्ताव गरेको भनिएका व्यक्ति गजेन्द्र हमालका बारेमा कुरा उठेपछि उनीसँग आफ्नो नाम किन जोडिएको हो भन्दै आश्चर्य व्यक्त गरेका थिए। उनले भने, ‘गजेन्द्र भन्या त शेरबहादुर सरहको कांग्रेसको नेता हो नि। उसको नामसँग मलाई जोड्नुपर्छ र?’ 

शाक्यले न्यायिक नेतृत्वबारे प्रश्न उठ्दा आफूहरूलाई पनि असहज भएको बताएका थिए। शाक्यले न्यायपालिकाप्रतिको जनआस्थासँग आफ्नो पेशागत मर्यादा जोडिएको उल्लेख गर्दै भने, ‘यो श्रीमानलाई मात्रै होइन, हामीलाई पनि आक्षेप लागेको हो। हाम्रो इज्जत र दृष्टिकोण श्रीमानसँग जोडिएको हुन्छ। श्रीमान् जतिजति माथि जानुहुन्छ हामी त्यतित्यति माथि जाने हो। श्रीमान् तल गए तल जाने हो।’

त्यसपछि जबराले आफूले सिफारिस नै नगरेको भन्ने आशयमा आफ्नो सफाइ पेस गरे। ‘प्रधानन्यायाधीशको सिफारिसमा प्रधानमन्त्रीले मन्त्री बनाउँछ र कहीं र? यो देशमा उहाँहरूको कोही छैन र ?’ 

उनले भने, ‘यस्तो पनि हुन्छ कहीं ? अलिकति कल्पना पनि गर्न नहुने कुरा हो। यस्तो कुरा पनि आउँछ त के भन्ने ?’ उनले सर्वोच्च अदालतबाट समाचारको खण्डनको तयारी भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.