सरकारलाई पूर्णता दिने दबाव दिने

|
विमलेन्द्र निधिको निवासमा छलफलरत नेपाली कांग्रेसका नेता त्रय (बायाँबाट क्रमशः) शशांक कोइराला, निधि र प्रकाशमान सिंह।

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भएको छलफलमा महाधिवेशन प्रभावित पार्न नदिने सहमति भएको छ। 

निधि निवास बानेश्वरमा भेटवार्तामा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यको विवाद तत्कालै टुंगोमा पुर्‍याएर तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न दबाव दिने सहमति भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए। 

सभापतिमा दाबी गर्दै आइरहेका तीन नेताहरुबीच सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने सहमति भएको उनले बताए। यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पूर्णता दिन दबाव दिने निर्णय पनि नेताहरूले बताएका छन्। देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको साढे दुई महिना बितिसक्दा समेत अझै पूर्णता पाउन सकेको छैन। 

संस्थापन पक्षबाट देउवाले नै सभापतिमा उठ्ने अडान राखेपछि नइतर पक्षबाट एक जनामात्र उम्मेदवार बनाउने प्रयास नेताहरूले गरिरहेका छन्। तर, सभापतिका आकांक्षी धेरै भएकाले कुरा मिल्न सकिरहेकाे छैन।

इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति उठ्ने इच्छा व्यक्त गरिरहेका छन्। तर, तीन नेताहरू भने देउवा र पौडेलले अब विश्राम लिएर दोस्रो पुस्तालाई अगाडि सार्नुपर्ने बताउँदै आइरहेका छन्। यसअघि पनि यी तीन नेताबीच छलफल भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.