|

सल्यान : कोरोना भाइरसका कारण लामो समयदेखि सुनसानजस्तै बनेको कुपिण्डे तालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। 

कोरोना भाइरसको संक्रमण कम देखिएसँगै कुपिण्डे ताल आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ। मौसममा सुधार तथा कोरोनाको डर पनि कम हुँदै जाँदा तालमा पर्यटकको सख्ंया बढ्दै जान थालेको स्थानीय शेरजंग कुँवरले बताए। उनले भने, ‘कोरोना भाइरसको डरले खासै कोही पनि तालमा घुम्न आउँदैनथे तर आज भोलि, दाङ, बाँके, बर्दिया, सुर्खेत, जाजरकोटबाट समेत आउन थालेका छन्।’

विगतमा दिनमा मुस्किलले पाँचजना आउने तालमा पछिल्लो समय दैनिक २५ देखि ३० जनासम्म आउने गरेको  कुपिण्डे ताल डुंगा व्यवसायी समितिका अध्यक्ष धनसिङ बस्नेतले बताए। शनिवार र अन्य सार्वजनिक बिदाका दिन १५० जनासम्म आउने गरेको उनको भनाइ छ।

कोरोनाले डुंगा व्यवसाय पूर्ण रुपमा धराशायी बनेको अवस्थामा अहिले भने केही पर्यटक आउँदा आशा जागेको उनले बताए। ‘तालमा २२ वटा डुंगा छन्,’ उनले भने, ‘पर्यटक आउन बन्द हुँदा धेरै डुंगा व्यवसायीको जीविकोपार्जन गर्न नै समस्या भएको छ।’

कुपिण्डेको विषयमा सुने पनि प्रत्यक्ष अनुभव गर्न कुपिण्डे तालमै आइपुगेको बाँकेका निरज ओलीले बताए। ‘धेरै साथीहरुले कुपिण्डे धेरै राम्रो छ। एक पटक घुम्न जाऔँ भनी रहेको थिएँ,’ उनले भने, ‘सोही अनुसार अरुले भनेको भन्दा प्रत्यक्ष आफ्नै आँखाले देख्न पाउँदा निक्कै रमाइलो लागेको छ।’ 

प्राकृतिक सुन्दरताले भरिएको तालमा व्यवस्थित होटेल, बगैँचा र सरसफाइमा स्थानीय सरकारले ध्यान दिन सके यसबाट स्थानीयले राम्रो आम्दानी गर्न सक्ने पर्यटकको भनाइ छ। टाढाबाट आएका पर्यटकलाई एक रात मात्र राख्न सक्ने अवस्था बनाउन सके आम्दानी पनि राम्रो हुने ओलीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.