|

काठमाडौं : काठमाडौं जिल्लाभित्रका अनधिकृत व्यापार गर्ने १३ पसललाई १ लाख १० हजार जरिवाना गराइएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सरोकारवाला निकायले बजार अनुगमन गरी जरिवाना तिराएका हुन्। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार खाद्यान्‍न, लत्ता कपडा, तरकारी लगायतका २५ वटा पसलमा बजार अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा १३ वटा पसलले म्याद गुज्रेका वस्तु विक्री वितरण,कानुनी प्रक्रिया पूरा नगरी पसल चलाएको लगायत गल्ती गरेको पाइयो। केही पसललाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण माग गरेको उनको बताए।

त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भक्तपुरका विभिन्न ठाउँमा प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, घरेलु तथा साना उद्योग, स्थानीय तह, खाद्य कार्यालय, नाप तौल कार्यालयलगायतमा ६ वटा पसलमा बजार अनुगमन गरेको छ।

दुईवटा पसललाई १०/१० हजार जरिवाना गराएको प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। प्रशासन कार्यालय भक्तपुरका अनुसार म्याद नाघेका घ्यू, पेय पदार्थ, मिठाई, दही, बिस्कुट, क्यानजुस, जाम, अचार गरी करिब १६ हजार मूल्य बराबरको वस्तु नष्ट गरिएको छ। केही दिनदेखि सरोकारवाला निकायले उपभोक्ता नठगियून् भनी दशैँ लक्षित बजार अनुगमन थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.