|

सन् १९८२ तिरको कुरा हो, बलिउड अभिनेता संजय दत्तले भर्खर बलिउड प्रवेश गरेका थिए। पहिलो फिल्म 'रकी'को सफलतापछि उनलाई भ्याइ नभ्याइ थियो।

उनलाई डेब्यू त आफ्नै बाबुले गराएका थिए तर राकेश कुमार, सुभाष घई, असिम सामन्थ, राजेन्द्र प्रसादजस्ता निर्देशकले पनि उनको अभिनय मन पराएका थिए र उनलाई एकपछि अर्को फिल्मको अफर आइरहेको थियो।

त्यो बेलाका चर्चित अभिनेता, निर्देशक तथा निर्माता सुनील दत्तले एउटा सुपरस्टार जन्माएको गाइँगुइँ सुनिन थालेको थियो। सन् १९८२ मा उनले 'जोनी आई लभ यू', 'विधाता', 'मैं आवारा हुँ' लगायत धेरै फिल्ममा एकै पटक काम गर्दै थिए।

कुनै फिल्मको छायांकन चलिरहेको थियो भने कुनै फिल्मको डबिङ भइरहेको थियो। अरु फिल्म आउने क्रम पनि जारी नै थियो।

भर्खर करिअरले गति लिन थालेको बेला उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले ड्रग्सको मामलामा समात्यो।

ड्रग्स सेवन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा उनी ५ महिना जेलमा बस्नु पर्‍यो। बलिउडमा कोही कलाकार ड्रग्सका कारण जेल परेको पहिलो घटना यही थियो।

त्यसपछि समय समयमा एनसिबीले बलिउडलाई झस्काइरहन्छ। संजय दत्तपछि धेरै कलाकार ड्रग्सको केसमा जेल परेका छन् भनेर धेरै चर्चित कलाकारको नाम मुछिएको छ। 


विशेषगरी अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको निधनपछि धेरै कलाकारको नाम बाहिर आयो।

जसमा रिया चक्रवर्तीकाे नाम सबैभन्दा अगाडि थियाे भने क्रमश: दीपिका पादुकोन, सारा अली खान, श्रद्धा कपूर, रकुलप्रित सिंह लगायतका ५० भन्दा बढी कलाकार थिए। यसको छानबिन अझै पनि भइरहेको छ।

दुई दिनअघि मात्र बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यनलाई पनि एनसिबीले गिरफ्तार गरेको छ।

क्रुजमा ड्रग्स पार्टी 

मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पार्टीमा सहभागी भएको आरोपमा आर्यनसहित ८ जना गिरफ्तार भएका छन्। उक्त क्रुजबाट कोकिन, एमडिएमए, मेफेड्रोन, चरेस जस्ता लागुपदार्थ बरामद भएको थियो।

२३ वर्षका आर्यन बलिउड प्रवेश गर्ने चर्चा पनि चलिरहेको थियो।

यो घटनाको छानबिन जारी छ। उनका बाबुआमा शाहरूख र गौरी आफ्नो छोरालाई निर्दोष सावित गर्न लागि परेका छन्।

एक जना ड्रग्स इन्फर्मरले एउटा अन्तरवार्तामा भनेका छन् बलिउडमा देखिएभन्दा कैयौं गुणा बढी लागुऔषध खपत भइरहेको छ। उनका अनुसार बलिउडमा ब्राजिल, कोलम्बिया, अष्ट्रेलिया, अमेरिका जस्ता देशबाट ठूलो मात्रामा लागुऔषध भित्रने गर्छ।

बलिउडमा सबैभन्दा बढी खपत हुने ड्रग्स हो कोकिन। कोकिनबाहेक ठुल्ठूला सेलिब्रेटीले गर्ने पार्टीमा एमडिएमए, एनएसडी, पेपर मेथलगायत ड्रग्स धेरै खपत हुने गर्छ।

उनका अनुसार सेलिब्रेटीसम्म तल्लो स्तरबाटै ड्रग्स पुग्ने गर्छ। ड्रग्स सेवन गर्ने समूहमा कोही एक जना यस्तो हुन्छ जसले डिलरबाट ड्रग्स लिएर सेलिब्रेटीसम्म ड्रग्स पुर्‍याउँछ।

 

बलिउडमा ड्रग्सको मामिलामा जेल नै परेका मात्र होइन यसकै कारण आफ्नो करिअर नै ध्वस्त पारेका कलाकार असंख्य छन्। जसमा संजय दत्तको नाम अगाडि आउँछ।

उनी ड्रग्सको मामलामा ५ महिना जेलमा मात्र बसेनन् ९ वर्ष यो कुलतमा लागेर आफ्नो ऊर्जाशील समय खेर पनि फाले। कुनै समय फिल्मको लागि भ्याइनभ्याइ हुने उनले एउटा यस्तो समय पनि देख्नुपर्‍यो जतिबेला उनले मलाई काम देऊ भन्दा पनि कसैले दिँदैनथ्यो।

अहिले उनी आफ्ना ती दिनबारे खुलेर कुरा गर्छन्। साथै आफूले गरेजस्तो गल्ती नगर्न अरुलाई प्रेरित पनि गर्छन्।

त्यस्तै मनीषा कोइराला, फरदिन खान, विजय राज, दिव्या भारतीलगायत कलाकारले ड्रग्सकै कारण करिअर बर्बाद गरेको मानिन्छ।

जसमा फरदिन खान र विजय राज जेल पनि परेका थिए भने दिव्या भारतीको मृत्यु पनि ड्रग्स र रक्सीसँग जोडिएको बताइ्रन्छ।

​त्यतिमात्र होइन बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रले रक्सीले नै आफ्नो जिन्दगी बर्बाद गरेको उनी आफैंले स्विकारेका छन्।

उनले एउटा अन्तरवार्तामा भनेका छन्, 'एउटा अभिनेताको रुपमा मैले आफ्नो जिन्दगी बर्बाद गरेँ, रक्सी खाएर।' साथै उनले अहिले रक्सी छाडिसकेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.