|
नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी। तस्वीर सौजन्य : भानुभक्त जोशीको फेसबुक

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने तयारी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन्।

‘१० बुँदे सहमति कार्यान्वयन हुने अवस्था पनि देखिएन,‘ जोशीले भने, ‘त्यस विषयामा सोच्ने समय आइरहेको छ। तपाईंहरू भोलि थाहा पाउनुहुन्छ।’ उनले पार्टी विभाजनपछि नेतृत्व सच्चिने आशा गरिएकोमा त्यस्तो हुन नसकेको बताए। 

समाचार स्रोतका अनुसार जोशीले एकीकृत समाजवादीमा समावेश हुने लगभग पक्का भइसकेको छ। उनले सुदूरपश्चिममा आफूनिकट कार्यकर्तालाई एकीकृत समाजवादीमा सक्रिय हुन आग्रह पनि गरिसकेका छन्।

नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गरेको थियो।

त्यसबेला जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो। एमालेभित्रको संघर्षका क्रममा साथ दिँदै आएका जोशीले भदौ २ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्ने निर्णयमा भने नेपाललाई साथ दिएनन्।

तर, उनले अध्यक्ष नेपाललाई भेटेर आफू एकीकृत समाजवादीमा नै लाग्ने बताएको समाचार स्रोतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.