|
फोटो : एन्फा

काठमाडौं : साफ च्याम्पियनसिपको फाइनल पुग्ने समीकरणमा नेपाल धेरैपटक महत्त्वपूर्ण खेलमा पराजित छ। तर‚ बंगलादेशविरुद्ध बलियो बिगत भएको नेपाल आज इतिहास बनाउन मैदान उत्रिंदै छ।

दक्षिण एसियाको यो ठूलो फुटबल इभेन्टमा पहिलोपटक फाइनल पक्का गर्न पुनः एकपटक बंगलादेशलाई रोक्नुपर्ने चुनौती नेपालसँग रहेको छ। साफमा बंगलादेश र नेपाल अहिलेसम्म सात खेलमा आमुन्ने सामुन्ने भएका छन्। जहाँ नेपाल सुरूका अर्थात् १९९१ देखि २००५ सम्मका लगातार चार साफमा पराजित भयो। तर‚ त्यसयताका बाँकी तीन साफमा भने नेपालले जित निकाल्दै आएको छ। अर्थात् बंगलादेशसँग नेपाल १४ वर्षदेखि साफमा लगातार जित आत्मासात् गर्दै बलियो इतिहास बनाउन सफल भएको छ।

सन् २०११ को साफमा समूह चरणमा बंगलादेशविरुद्ध इतिहास बदल्ने गोल सागर थापाले सम्भव बनाएका थिए। अन्तिम केही सेकेन्ड बाँकी हुँदा थापाले गरेको  विश्व चर्चित फ्रि किक गोलपछि नेपालले बंगलादेशसँग साफमा पराजित हुनु परेको छैन।

सन् २०१३ मा पनि बंगलादेश नेपालसँग पराजित भयो। सन् २०१८ मा पनि घरेलु मैदानमानै बंगलादेश नेपाल सँग १-० ले पराजित भएर प्रतियोगिताबाटै बाहिरियो। साफका पछिल्ला तीन खेलमा बंगलादेशले नेपालविरुद्ध गोल समेत गर्न सकेको छैन। त्यसैले नेपाल केही आत्माविश्वासी पक्कै छ।

यी दुई टिमबिच पछिल्लो पटक गत अक्टोबरमा भएको थ्रि नेशन्स कपमा प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालसँग बंगलादेश पराजित भएको थियो। दशरथ रंगशालामा भएको उक्त खेलमा नेपाल ३-१ ले विजयी भएको थियो। त्यसैले नेपाल आफ्नो बलियो विगतको निरन्तरताका लागि मैदान उत्रिंदा पछिल्ला हारको श्रृंखला तोड्ने प्रयासमा बंगलादेश रहने छ।

जारी साफको फाइनल समीकरणमा नेपाल केही बलियो अवस्थामा छ। बंगलादेशविरुद्ध केवल एक अंक पाए नेपाल पहिलो पटक इतिहास बनाउने छ। तर‚ बंगलादेश भने स्पष्ट जित चाहन्छ। त्यसैले माल्दिभ्समा हुने आजको भिडन्तमा दुबै टिमबिच कडा प्रतिस्पर्धा हुने पक्का छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.