|

काठमाडौं : वर्ष दिनमा आउने महान् चाड दशैं आयो। संघीय राजधानी काठमाडौंमा व्यापार, व्यवसाय र अध्ययन गरिरहेका विद्यार्थी लगायत अधिकांश सर्वसाधारण दशैं मनाउन जन्मघर गएका छन्। परिवारसँग खुशी साटासाट गर्दै छन् उनीहरू।

सुरक्षा गार्डहरू भने सुरक्षा कार्यमै तैनाथ छन्। उनीहरू गाउँ जान पाएका छैनन्। गाउँ जान मन हुँदा पनि ड्युटी मै खटिइरहनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। न्युरोडको एक कम्पनीमा सुरक्षा गार्ड बसिरहेका गोविन्द भण्डारी भन्छन्, ‘यसपालि दशैंमा गाउँ जान छुट्टी मिलेन। के गर्नु काम नै यस्तै छ।’ उनी त्यस कम्पनीमा काम गरेको एक महिना भएको छ। उनले त्यहाँ सबै हेरचाह गर्नुपर्नेछ।

‘गाउँको जस्तै गरी दशैं मनाउन पाइँदैन’, उनले भने, ‘गाउँघरको रमाइलो सम्झेर अब चित्त बुझाउनुपर्ने बाहेक अरू विकल्प छैन।’ अर्को वर्षको दशैंमा गाउँमै गएर परिवारसँग रमाइलो गर्दै पर्व मनाउने उनको इच्छा छ।

उनी भन्छन्, ‘सबै साथीभाइ गाउँ गए, त्यो देख्दा जान मन लाग्छ, तर रहर मात्र हेरेर भएन, आफ्नो बाध्यता पनि बुझ्नुपर्छ। त्यसैले मोबाइलमा गीत बजाउँदै डिउटी गर्छु।’

बल्ल आएको वर्ष दिनको चाडवाडमा गाउँ जान नपाउँदा मनै खल्लो हुने उनी बताउँछन्।

बर्दियाका युवराज खत्रीको पनि यसपालिको दशैं गार्ड बसेरै बित्दै छ। थापाथलीको एक कम्पनीमा सुरक्षा गार्ड बसिरहेका उनी अघिल्लो वर्ष गाउँमै गएर दशैं मनाएका थिए। परिवारसँग बसेर मिठोमसिनो खाएका थिए। आफन्त र परिवारसँग भेटघाट भएको थियो।

तर यो वर्ष त्यो अवसर जुरेन। ‘दशैंका वेला कसलाई आफ्नो गाउँघर जान मन नलाग्ला र? तर के गर्नु दुःखको पहाडले थिचेपछि चिर्न प्रयास गर्नेपर्ने रहेछ’, युवराजले भने। उनको डिउटी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म छ। डिउटी सकिएपछि आफू बसेको डेरामै रमाइलो मान्दै रात काट्ने उनी बताउँछन्।

दुई वर्ष गाउँ नजानु बाध्यता

गोविन्द र युवराजका जस्तै यो वर्षको दशैं धनबहादुर बुढाको पनि काममै बित्दै छ। उनी त्रिपुरेश्वरको कार विक्री कम्पनीमा सुरक्षा गार्ड बस्छन्। बर्दिबासका धनबहादुर परिवारकै लागि आफ्ना रहर मार्दै छन्।

उनले भने, ‘गाउँको दशैं मनाउन नपाएको अबको यो दशैंले दुई वर्ष पो हुन्छ।’ उनी काठमाडौंमा बसेको तीन वर्ष भयो। आफ्नो परिवार यही बसेकाले यही दशैं मनाउने उनले सुनाए।

‘गाउँमा दाइ लगायत परिवार छन्, उहाँहरूलाई राम्रोसँग मनाउनु भनिसकेको छु,’ उनले सुनाए‚ ‘सबैलाई मेरा तर्फबाट शुभकामना सन्देश पनि दिन्छु, अर्को वर्ष सबै परिवार मिली मनाउँला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.