|

जनकपुरधाम : महोत्तरीको महोत्तरी गाउँपालिका–३ मडैका ४२ वर्षीय संजयकुमार झाले बोक्सीको आरोपमा आफ्नै भाउजुको हत्या गरेको रहस्य खुलेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशकुमार आचार्यले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेका झालाई सार्वजनिक गरेका हुन्।

संजयले भाउजू ४२ वर्षीया शिलादेवी झालाई असोज २७ गते राति टाउकोमा हथौडा प्रहार गरी हत्या गरेर फरार भएका थिए।

उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। हत्या गरिएको अवस्थामा शिलादेवीको शव असोज २८ गते घरमै फेला परेको थियो।

०७८ असारमा संजय र रिंकुको विवाह भएपछि शिलादेवीसँगै सगोलमा बस्थे उनीहरू। सो क्रममा एकदिन शिलादेवीले गर्भवती रिंकुलाई केरा खान दिइन्। सोही राति रिंकुको गर्भ तुहियो र बिरामी भइन्।

संजयले रिंकुलाई उपचार गराउन जनकपुर लगे। तर अस्पतालमा उपचार गराउँदा पनि उनी निको भइनन्। त्यसपछि उनले धामी झाँक्रीको सहारा लिए।

धामी झाँक्री लगाउँदा रिंकुले काम्दै भनिन्, ‘म कृष्णा हुँ। आमा शिलादेवीले म र मेरो बुवा लालकिशोरलाई मारेकी छन्। अब संजयको पत्नी रिंकुलाई मार्छु।’

रिंकुले झाँक्रीसामु यसरी बोलेपछि शिलादेवी बोक्सी भएको रहेको निश्कर्षमा पुगे उनका पति संजय।

शिलादेवीले केरा खुवाएको कारण पत्नीको गर्भ तुहिएको र बिरामी परेको भन्दै संजय आक्रोशित बने। र, आफ्नो परिवार सुरक्षित बनाउन शिलादेवीलाई मार्ने योजना बनाए।

प्रहरीका अनुसार संजयले शिलादेवीलाई १२ लाख ३९ हजार रूपैयाँ सापटीसमेत दिएका थिए। आफ्नो पत्नीलाई नै मार्न खोजेको अन्धविश्वासमा परेपछि रूपैयाँ फिर्ता मागे। तर रूपैयाँ पनि फिर्ता गर्न आलटाल गरेपछि आक्रोश थाम्न सकेनन्।

भाउजु शिलादेवीको हत्या गर्ने योजनाका साथ संजय असोज २७ गते जनकपुरबाट मडै पुगेर घरमा बसे। सोही राति भाउजू सुतिरहेको ओछ्यानमै गएर हथौडाले तीनपटक प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी साइकलमा जनकपुर भागेको प्रहरीले जनाएको छ।

पक्राउ परेपछि संजयले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

यसरी भाउजु शिलादेवीलाई मारेपछि मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वाशका कारण संजयले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.