|

पर्वत : गण्डकी प्रदेशमा ११ दिनको अवधिमा १४ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परी २८ जना गम्भीर घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालय गण्डकी, पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार असोज २१ गतेदेखि कात्तिक १ सम्म ती दुर्घटना भएका हुन्। ११ दिनको अवधिमा मनाङ, मुस्ताङ, म्याग्दी र बाग्लुङमा कुनै पनि दुर्घटना भएको छैन। बाँकी सात जिल्लामा दुर्घटना भएका छन्।

असोज २१, २३ र २८ मा कुनै पनि दुर्घटना भएनन् भने असोज २२ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा एउटा ट्रक र तनहुँमा एउटा मोटरसाइकल दुर्घटनामा परे। असोज २४ मा स्याङ्जामा एउटा जिप दुर्घटना, असोज २५ मा कास्कीमा एउटा जिप दुर्घटना, असोज २६ मा गोरखामा एउटा जिप दुर्घटना, असोज २७ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा एउटा मोटरसाइकल दुर्घटनामा परेका छन्।

यसैगरी असोज २९ मा तनहुँमा जिप र मोटरसाइकल आपसमा ठोक्किए, असोज ३१ मा कास्कीका दुई स्थानमा जिप र मोटरसाइकल दुर्घटनामा परे भने कात्तिक १ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा फरक–फरक दुई स्थानमा बस र मोटरसाइकल दुर्घटनामा परेका थिए।

यसरी ११ दिनको अवधिमा कास्कीमामा कुल चार दुर्घटनामा १० जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भएका चार दुर्घटनामा एक जना, स्याङ्जामा भएको एक दुर्घटनामा तीन र लमजुङमा भएको एक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। १४ दुर्घटनामा कुल २८ जना गम्भीर घाइते भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

डिएसपी विकका अनुसार ११ दिनको अवधिमा कुल चार हजार ९८६ वटा सवारीमाथि ट्राफिक नियम उल्लंघन गरेको केसमा कारबाही गरिएको छ। ती सवारीबाट कुल ३२ लाख ३० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको र त्यसमध्येको ७७ हजार रुपैयाँ भने मादक पदार्थ सेवन गरी सवारी चलाएकाहरूलाई गरिएको कारबाहीबाट संकलन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.