जनकपुरधाम : नेपाल मधेसी निजामति कर्मचारी मञ्चले नेपाल खानेपानी संस्थानको जनकपुरधाम शाखाका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि भएको अमानवीय दुर्व्यवहारको घोर भर्त्सना गरेको छ।
मञ्च केन्द्रीय समितिले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै जनमत पार्टीका कार्यकर्ताले गरेको अमानवीय दुर्व्यवहारलाई आपराधिक भन्दै खेद प्रकट गर्नुका साथै गैरकानुनी र गैरराजनीतिक व्यवहारको घोर भर्त्सना गरेको जनाएको छ।
कर्मचारी मञ्चका महासचिव बेचनकुमार महतोद्वारा जारी विज्ञप्तिमा पेशागत इमान्दारिता र जनअपेक्षा अनुसार काम गर्ने कर्मचारीउपर यसरी दिनदहाडै कार्यकक्षमै आक्रमण हुनुले समग्र कर्मचारी प्रशासनको मनोबल गिरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा कार्यथलोमा सुरक्षाको प्रत्याभूति नभएको जनाउँदै भूमिगत शैलीमा दुर्व्यवहार भएको र हुने यस्ता स्वार्थपरक आक्रमणले समग्र प्रशासनिक उत्पादकत्व घट्नेमा दुई मत नरहने ठहर गरिएको छ।
घटनामा घाइते भएका कुशवाहाको उचित स्वास्थ्योपचार तथा दोषीउपर तत्काल कडा कारबाहीको माग गर्दै तत्काल माग पूरा नभए सुशासनको प्रत्याभूतिका लागि कडा आन्दोलनमा उत्रने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।