|
सुदूरपश्चिम प्रदेश कैलालीको टीकापुरमा बाढी पहिरोले गरेको क्षति अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्वीर : रासस

काठमाडौं : बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली आज (शुक्रबार) काठमाडौं फर्किएको छ।

काठमाडौंबाट हिजो बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रदेशका बाढीपहिरो प्रभावित जिल्लाको निरीक्षणपछि आज साँझ काठमाडौं फर्किएका हुन्।

बझाङ, डोटी, डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दियालगायत ठाउँ पुगेका प्रधानमन्त्री देउवाले प्रभावितलाई भेटेर सम्बोधन गरे भने कतै पीडितलाई नभेटेरै फर्किएको बताइएको छ।

उनले आज कैलाली र बर्दियाका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक देउवा गृहप्रदेश सुदूरपश्चिम गएका हुन्।

उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, का|ग्रेस नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायर पनि गएका थिए।

उनले आज धनगढीमा बाढी र पहिरो पीडितका लागि अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणका योजना ल्याउने आश्वासन दिए। यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा पारित हुने दाबी पनि गरे।

एमसिसी अनुदान भएको बताउँदै उनले यो नेपालकै कानूनमातहत लागू हुने दाबी गरे। उनले एमसिसीमा संशोधन आवश्यक नभएको जिकिरसमेत गरे।

यस्तै उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशन सर्ने अथवा निर्धारित समयमै हुने वा नहुने बारे निर्वाचन समितिलाई सबै जिम्मेवारी दिइएको पनि बताए।

सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताए।

कांग्रेस सभापतिसमेत रहेका देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने बताएका थिए।

हिजो मात्र बागमती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री हुने सहमति भएको थियो।

बर्दियाका बाढीपीडितलाई प्रधानमन्त्रीको आश्वासन : तत्काल राहत कार्यक्रम आउँछ

प्रधानमन्त्री देउवाले बर्दियामा कर्णालीको बाढीबाट प्रभावित राजापुर र गेरुवा क्षेत्रका बासिन्दाका लागि तत्काल राहत कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिएका छन्।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज राजापुर पुगेका प्रधानमन्त्री देउवाले बाढीबाट सबैभन्दा प्रभावित भएको यस क्षेत्रका बासिन्दाका लागि आफूले तत्काल राहत र विशेष प्याकेजको कार्यक्रम ल्याउने बताए।

बाढीपीडितको अवस्था बुझ्न आफू बर्दिया आएको र काठमाडौं पुगेपछि दीर्घकालीन कार्यक्रम र योजना बनाउने उनको भनाई थियो।

उनले मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बसी दीर्घकालीन योजना बनाएर कर्णाली व्यवस्थापनको लागि स्थायी तटबन्ध बनाउन पहल गर्ने बताए।

बाढीबाट मात्र नभई वन्यजन्तुबाट समेत मानवीय क्षति बेहोरिरहेको बर्दियाका लागि छुट्टै विशेष कार्यक्रम ल्याउने आश्वासन पनि उनले दिए।

कैलालीको बाढी प्रभावित क्षेत्रको निरीक्षणपश्चात प्रधानमन्त्री देउवासहित अर्थमन्त्री जनार्दन शर्मा लगायतको टोली राजापुर पुगेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.