|

काठमाडौं : नेकपा (एमाले)को आज देशभर वडा अधिवेशन भइरहेको छ। देशव्यापी रूपमा अधिवेशनको भर्चुअल माध्यमबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले आज वडा अधिवेशन गरेको हो। एमालेले ९ कात्तिकमा पालिका अधिवेशन गर्दैछ।

आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवन जिल्लामा हुनेछ। २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।

एमालेको विधान २०४९ (प्रथम विधान महाधिवेशन, २०७८ को संशोधन सहित) धारा-४६ अनुसार वडा शाखा कमिटी दुई अधिवेशन बीचको अवधिमा सम्बन्धित वडा/शाखाभित्र पार्टीको मुख्य कार्यकारी संस्था हुने उल्लेख छ। 

वडा/शाखा कमिटी वडा/शाखा अधिवेशन, वडा/शाखा अधिवेशन प्रतिनिधि परिषद्, पालिका/इलाका, जिल्ला, प्रदेश तथा केन्द्रीय कमिटीप्रति उत्तरदायी हुनेछ।

वडा/शाखा अधिवेशनले अध्यक्ष– १, उपाध्यक्ष– १, सचिव– १, उपसचिव– २ र उपधारा ३ मा उल्लिखित अधिकतम् संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको वडा/शाखा कमिटी निर्वाचन गर्नेछ। वडा-शाखा मातहतका टोल-प्रारम्भिक कमिटीका अध्यक्षहरू वडा/शाखा कमिटीका पदेन सदस्य हुनेछन्।

गाउँ र नगरका वडा कमिटीको अधिकतम् सदस्य संख्या ३१, उपमहानगरका वडा कमिटीको अधिकतम् संख्या ४१ र महानगरका वडा कमिटीको अधिकतम् सदस्य ५१ र शाखा कमिटीको अधिकतम् संख्या २५ हुनेछ।

वडा-शाखा कमिटीमा पार्टी सदस्यको विविधता प्रतिविम्बित हुनेगरी समावेशीकरण गरिने उल्लेख छ। अधिवेशनबाट नयाँ कमिटी निर्वाचित भई शपथग्रहण गरेपछि पुरानो कमिटी स्वतः विघटन हुनेछ।

यस्तै, विधानको धारा–४७ अनुसार वडा कमिटीका वडा/शाखाभित्रको पार्टीको कामको नेतृत्व गर्ने महाधिवेशन र माथिल्लो कमिटीका निर्णयको प्रतिकूल नहुने गरी आफ्नो कार्यक्षेत्रअन्तर्गतका राजनीतिक र संगठनात्मक विषयमा निर्णय गर्ने, आफ्नो कमिटीको निर्णय र माथिल्लो कमिटीका निर्देशन कार्यान्वयन गर्ने र गराउने अधिकार र कर्तव्य हुनेछ। 

वडा कमिटीको कुल सदस्य संख्याको २५ प्रतिशतमा नबढ्ने गरी सचिवालय गठन गर्ने, तोकिए बमोजिमका विभाग, संयन्त्र र कार्यदल गठन गर्ने, तिनको काम, कर्तव्य र अधिकार तोक्ने, आफ्नो कमिटीको कुल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी नहुने गरी सल्लाहकार परिषद् गठन गर्ने उल्लेख छ। 

आफ्नो कार्यक्षेत्रभित्रका जनतालाई पार्टीमा गोलबन्द गर्ने, प्रशिक्षित गर्ने, संगठित गर्ने, पार्टीका मातहत कमिटी र जनवर्गीय तथा पेशागत संगठनमा रहेका सदस्यहरूलाई आवश्यक निर्देशन दिने र तिनका कार्यहरूको अनुगमन तथा मूल्यांकन गर्ने, विधानबमोजिम मातहत कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यताको आवेदन आएमा आवश्यक अध्ययन गरी सिफारिससहित पालिका/इलाका कमिटीमा पठाउने कार्यभार वडा कमिटीको हुने उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.