|

डडेल्धुरा : आईसीसी टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले जित निकालेको छ। सुपर–१२ अन्तर्गत दुवईमा आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो।

भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विकेट नगुमाई भेट्टायो। उसका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङ गरे।

रिजवानले ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा नटआउट ७९ रन बनाउँदा बाबरले ५२ बलमा ६ चौका र २ छक्कासहित अविजित ६८ रनको योगदान दिए।

यो पाकिस्तानको ऐतिहासिक जित हो। टी–२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतलाई हराएको हो। यसअघि, भारतले पाकिस्तानसँग खेलेका सबै पाँच खेल जितेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो।

उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले। उनले ४९ बलमा ५ चौका र १ छक्कासहित ५७ रन बनाए।

यस्तै, ऋषभ पन्तले ३९, रवीन्द्र जडेजाले १३, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले ११–११ तथा केएल राहुलले ३, भुवनेश्वर कुमाररनले अविजित ५ रन बनाउँदा रोहित शर्मा शून्य रनमा आउट भए।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले रोहित, राहुल र विराटको विकेट लिएका हुन्।

यस्तै, हसन अलीले २ तथा हैरिस रौफ र शदाब खानले १–१ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.