|

काठमाडौं : सरकारले अमेरिका, बेलायत र भारतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।

मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले श्रीधर खत्रीलाई अमेरिकाका लागि र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको हो। यसैगरी, डा. शंकर शर्मालाई भारतका लागि राजदूत नियुक्त गर्न राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको छ।

यसअघि डा शर्मा अमेरिकाका लागि राजदूत भइसकेका छन्। उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन्।

राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन्। 

परराष्ट्र मन्त्रालयमा कार्यरत रहँदा नै आचार्यले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका रुपमा काम गरिसकेका छन्। उनले राष्ट्रसंघको उपमहासचिव तहबाट अवकाश पाएका थिए। यसबाहेक उनले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रुपमा पनि काम गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको ग्लास्गोमा कात्तिक १५-१६ मा हुने संयुक्त राष्ट्रसंघको २६ औँ कोप सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार जानुअघि अमेरिका, बेलायत र भारतका लागि राजदूत नियुक्तिको सिफारिश गरेका हुन्।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका एक दर्जनभन्दा बढी राजदूतलाई फिर्ता बोलाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.