त्यतिवेला संसार दोस्रो विश्वयुद्धको चपेटामा थियो। अमेरिकाको क्यालिफोर्नियामा आफ्नी श्रीमती ग्रेस होसँग बस्दै गरेका ली होइ छन त्यहीँ बस्ने कि जन्मभूमि हङकङ फर्किने भन्ने दुविधामा थिए।
सन् १९४० नोभेम्बर २७ मा होले ब्रुस लीलाई जन्म दिइन्। ओपेरा संगीत, अभिनय तथा फिल्म निर्देशन भविष्य खोज्दै अमेरिका पुगेका छन आफ्नो छोराको भविष्यका लागि हङकङ फर्किए।
बाबुआमासँग बालक ब्रुस ली
छन हङकङ पुग्दा उनका साथीहरू सक्रिय रूपमा फिल्म निर्माणमा लागेका थिए। छन फर्कनुले हङकङको सानो फिल्म उद्योगमा केही न केही फरक पार्नेमा उनीहरू विश्वस्त थिए।
छनकै साथीहरू मिलेर 'गोल्डेन गेट गर्ल' नामक फिल्म बनाए। सन १९४१ मा प्रदर्शनमा आएको उक्त फिल्म नै ब्रुस लीको पहिलो फिल्म हो। त्यतिवेला ली तीन महिनाका मात्र थिए।
१६ वर्षको हुँदासम्म उनले बालकलाकारको रूपमा २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका थिए। उमेर बढ्दै जाँदा उनी फिल्मभन्दा पनि बढी साथीहरूसँग खेल्न मन पराउन थाले। साथीहरूसँग हिँड्दा उनको झगडा परिराख्थ्यो।
ली सानैदेखि अरू साथीभन्दा बलिया भएकाले कहीँ झगडा भयो भने लीका साथी उनलाई खोज्दै आउँथे। लीले कुटेको भन्दै पिता छनसँग गुनासो गर्नेहरू पनि धेरै हुन्थे।
लीको क्षमताबारे थाहा पाएपछि उनका बाबुले उनलाई मार्सल आर्टको कक्षा लिन यिप म्यान कहाँ पठाए। जो त्यतिवेलाका प्रसिद्ध मार्सल आर्ट गुरु थिए। त्यही लीले विङ चुन (मार्सल आर्टको एउटा विधा) सिके।
गुरु यिप म्यानसँग ली
यिप म्यानसँग कक्षा लिइसकेपछि भने लीले आफ्नो शारीरिक क्षमताको बारेमा राम्रोसँग बुझ्न पाए। त्यसपछि उनी रिङभित्र मात्रै लड्न थाले। कहिलेकाहीँ रिङ बाहिर पनि उनको झगडा हुन्थ्यो। विशेषगरी कसैले निर्दोषलाई हेपाहा व्यवहार गरेको ली देख्न सक्दैनथे।
त्यसपछि उच्च शिक्षा अध्ययनका लागि लीलाई बुवाले अमेरिका पठाइदिए। त्यहाँ उनका आफन्त बस्थे।
उनले अमेरिकामा आफ्नो खर्च जुटाउन बच्चाहरूलाई मार्सल आर्ट सिकाउन थाले। त्यसपछि जम्मा भएको पैसाले वासिङटन विश्वविद्यालयमा नाट्य कला र दर्शन शास्त्र पढे। उनले कलेजमा पनि मार्सल आर्टको प्रशिक्षण दिन थाले।
त्यहीँ लिन्डा इमेरीसँग भेट भयो। प्रेम भयो। विवाह भयो। उनीहरूका दुई सन्तान भए, ब्राण्डन ली र सेनन ली। जसले पछि अमेरिकामै रहेर मार्सल आर्ट र अभिनयमा आफ्नो पहिचान बनाए।
छाेरा र छाेरीसँग ली र लिन्डा
उनले सन् १९६९ मा लस एन्जलसको चाइना टाउनमा मार्सल आर्ट ट्रेनिङ सेन्टर खोले। जहाँ उनी आफैंले विकास गरेको जिट कुने डो मार्सल आर्ट शैली पढाउन थाले।
लीसँग कक्षा लिएका डिन मार्टिन‚ रोमन पोलान्सकी, सेरन टेट, जेम्स गार्नर लगायतका धेरै विद्यार्थी पछि हलिउडका चर्चित अभिनेता पनि बने।
सोही वर्ष उनले 'मार्लो' नामक फिल्ममा हेल्पिङ एक्टरको रूपमा काम गरे। त्यसअघि उनले 'द रेचिङ क्रु'मा द्वन्द्व निर्देशकको रूपमा काम गरेका थिए।
त्यसअघि पनि धेरै फिल्ममा अभिनय गरेका ली अझै पनि मार्सल आर्टिस्सटको रूपमा चिनिन्थे। सन् १९७१ मा आएको चिनियाँ फिल्म 'बिग बोस'ले उनलाई अभिनेताको रूपमा विश्वभर चिनायो।
त्यसपछि उनले 'फिस्ट अफ फ्युरी', 'वे अफ द ड्रागन' जस्ता सुपरहिट मार्सल आर्ट फिल्ममा अभिनय गरे। आफू खेल्ने सबै फिल्मको द्वन्द्व निर्देशन पनि उनैले गर्थे।
१९७३ मा आएको 'फिस्ट अफ युनियन' उनले द्वन्द्व निर्देशन गरेको अन्तिम फिल्म हो।
भनिन्छ‚ सफलताको शिखरमा पुगेपछि उनले आफ्नाे क्षमता अझ बढाउन विभिन्न लागु औषधको सेवन गर्ने गर्थे। धेरै औषधिकाे सेवन र अत्यधिक अभ्यासले गर्दा उनको दिमागका नसा कमजोर हुन थालेका थिए। २० जुलाई १९७३ को साँझ उनको टाउको दुख्न थाल्यो। दुखाइ कम गर्ने औषधि लिएको एकैछिनमा उनी बेहोस भए। त्यसपछि उनी कहिल्यै होसमा आएनन्।
भौतिक रूपमा ३२ वर्षको उमेरमै अस्ताएका ली आज पनि मार्सल आर्टका राजा मानिन्छन्।
ब्रुस लीको नामबिना मार्सल आर्ट आज पनि अपूर्ण मानिन्छ। मार्सल आर्टका विद्वान् भन्छन् उनी जस्तो खेलाडी न त्यसअघि कोही जन्मिएको थियो न त्यसपछि कोही जन्मियो।
भनिन्छ लीको गति यति तीव्र हुन्थ्यो कि फिल्मका लागि खिचिएको फाइट सिनलाई पछि सम्पादन गर्दा गति कम गरेर राख्नु पर्थ्यो। ता कि हेर्नेलाई त्यो नक्कली नलागोस्। लीले एक सेकेन्डमा ९ वटा ह्याण्ड पन्च हान्न सक्थे भने ६ किक हान्न सक्थे। यी लगायत लीका थुप्रै रेकर्ड आजसम्म कसैले तोड्न सकेको छैन।
अभ्यासका क्रममा ली
लीलाई मार्सट आर्टका बादशाह एवं कुशल अभिनेताका रूपमा आज पनि संसारले सम्झने गर्छ। उनी खेलाडी र अभिनेता मात्र थिएनन्‚ उनी त कवि, चित्रकार र दार्शनिक पनि थिए।
उनी भन्ने गर्थे, 'जब तिमी पानीलाई कपमा हाल्छौ, त्यो कप बन्छ। बोतलमा हाल्दा बोतल बन्छ। चियादानीमा हाल्दा चियादानी बन्छ। पानी तप तप तप्किन सक्छ, त्यही पानीले संसार बगाउन पनि सक्छ। त्यसैले तिमी पनि पानी जस्तै निराकार बन। पानी जस्तै बन मेरो साथी।'
एजेन्सीकाे सहयाेगमा
तपाईंको ईमेल गोप्य राखिनेछ ।