|

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अझै १० बुँदे सहमतिको विवाद कायमै छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले  १० बुँदे सहमति पालना नगर्ने भएपछि एमालेमा विवाद भएको हो। 

कात्तिक ५ गतेको  स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गरेका उपाध्यक्ष रावलले ओलीलाई सम्बोधन गर्दै कात्तिक १० गते राजीनामा बुझाएका थिए। 

एमाले विभाजनको बेलामा माधवकुमार नेपालको साथ छाडेको उपाध्यक्ष रावल अहिले ओलीसँग रुष्ट छन्। ओलीले पार्टी विभाजनअघि नेपाल समूहलाई ‘बाइपास’ गरेझैँ अहिले तेस्रो धारका नेताहरूलाई बेवास्ता गरिरहेका छन्। 

ओली–नेपालबीचको दरार पुरेर पार्टी फुट्न नदिन दुवै समूहका दोस्रो तहका नेताहरूले बल गरेका थिए। ओली–नेपाल भेटवार्ता गराएर विवाद समाधान कार्यदल गठन पनि गरे। पार्टीको आन्तरिक विवाद समाधान गर्न कार्यदलले लामो सकसका साथ १० बुँदे सहमति गरायो। तर, नेपालले त्यसमा असहमति राखे। 

यतिबेला पार्टी एकताका लागि गरिएको त्यही १० बुँदे सहमति निल्नु न ओकल्नु भइरहेको छ। अध्यक्ष ओलीसहित संस्थापन पक्षधर नेताहरू ०७५ जेठ २ मा सर्लक्कै फर्कन सम्भव नभएको बताइरहेका छन्। एमालेका दोस्रो तहका नेताहरू भने त्यहीँबाट अघि बढ्नुपर्ने बताइरहेका छन्।

ओली र नेपालको द्वन्द्वका कारण नेपालले एमालेबाट ‘विद्रोह’ गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता गरे। नेपाललाई साथ दिएका दोस्रो तहका नेताहरूले अन्तिम समयमा आएर उनलाई छाडेका थिए।

एमालेमा ओलीविरुद्ध संघर्ष गरिरहेका उपाध्यक्ष रावलले पार्टी विभाजनको कारक ओली नै भएको संकेत गरेका छन्। 

कार्यदलको संयोजकबाट राजीनामा दिँदै भनेका छन्, ‘दश बुँदे सहमतिको कार्यान्वयन गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो। यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र म समेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रुपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो।’

सहमतिबारे नेता नेपाललाई जानकारी गराउने तथा भोलिपल्टै दुईजना नेताहरुको बीचमा कुराकानीका लागि स्थान निर्धारण गर्ने जिम्मेवारी समेत आफैँले पाएका उपाध्यक्ष रावलले उल्लेख गरेका छन्। 

भनेका छन्, ‘सोही अनुसार मैले उक्त निर्णयबारे माधवकुमार नेपाललाई जानकारी गराउनुका साथै कुराकानीका लागि स्थानको बारेमा कुरा गरेको थिएँ। तर, भोलिपल्ट पुष्पलाल स्मृति दिवस परेकाले दुवैजना नेताहरु कार्यक्रममा व्यस्त रहने स्थिति हुँदा कुराकानी हुनसकेन। त्यसपछि सार्वजनिक रुपमा भएका कटु शब्दबाणहरुको आदानप्रदानको कारण स्थिति बिथोलियो।’

पूर्व-सहमतिको कार्यान्वयन गर्न र दुईजना नेताहरुका बीच कुराकानीको वातावरण बनाउन भरपुर प्रयास भएको गरेको उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.