|

काठमाडौं : ​अब बन्ने नयाँ चक्रपथ सडक अपांगमैत्री, पैदल यात्रुमैत्री,साइकल लेन राख्ने लगायतका सुरक्षित सडक बनाउन सरोकारवालाहरूले सरकारसँग माग गरेका छन्।

आइतबार नेपाल साइकल सोसाइटी, सुरक्षित र दिगो यात्रा नेपाल, रोड सेफ्टी सोसाइटी नेपाल लगायतका संस्थाले चक्रपथको विषयमा गरेको छलफल कार्यक्रममा कोटेश्वर-कलंकी सडक जस्तो नबनाउन माग गरेको छ। 

चक्रपथ सडक विस्तारअन्तर्गत कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तार सरकारको दोस्रो चरणको योजना हो। पहिलो चरणमा कोटेश्वर-कलंकी विस्तार भइसकेको छ। 

छलफल कार्यक्रममा साइकल अभियन्ता रत्न श्रेष्ठले भने, ‘पहिला बनेको चक्रपथ सुरक्षित छैन, यस्तै गरी नयाँ चक्रपथ नबनाइयोस् भन्ने हाम्रो माग हो।’ उनका अनुसार छलफलमा साइकल लेन बनाउनुपर्ने,अपांगमैत्री, यात्रुमैत्री, प्रशस्त आकाशे पुल लगायत सुरक्षित संरचना बनाउन सरकारसँग माग गरिएको छ।

‘सरकारले बनाएको डिजाइन पनि सार्वजनिक गर्न माग गरिएको छ’, उनले भने, ‘छलफलबाट निस्किएको निचोडको ज्ञापनपत्र स्थानीय तहका जनप्रतिनिधि, संसदीय समिति लगायत जिम्मेवार सरकारी निकायमा बुझाउँछौँ।’

नागरिक आन्दोलनका अगुवा तथा पत्रकार नारायण वाग्लेले विकासको नाममा नागरिकको अधिकारलाई ब्रेक गराइएको बताए। ‘यो चक्रपथ विस्तार अवधारणा नै एक समस्या देख्छु, यो अलोकतान्त्रिक छ, नागरिक हिँड्ने ठाउँ बिनाको सडक किन बनाउनु पर्‍याे, सवारीका लागि मात्र हेरेर भएन नि’, उनले भने। 

बन्दै गरेको चक्रपथ डिजाइन तुरुन्तै सार्वजनिक गर्नुपर्ने उनको माग छ। सरकारले यी मागलाई बेवास्ता गरी सडक विस्तार गरे अवरोध गरी आन्दोलन गर्ने उनको चेतावनी छ। 

‘जेब्रा क्रसिङमा अडियो जडान गर्नुपर्छ’

दृष्टिविहीन सरोज भट्टराईले बन्ने नयाँ सबै संरचना अपांगमैत्री र जेब्रा क्रसिङमा अडियोको व्यवस्था गर्नुपर्ने माग गरे। उनले भने, ‘बनिसकेका धेरै संरचना अपांगमैत्री छैनन्, जेब्रा क्रसिङ कहाँ कहाँ छ भनेर हामीलाई जानकारी हुँदैन। त्यसैले जहाँ जेब्रा क्रसिङ छ त्यहाँ बज्ने अडियो राखेमा सहज हुने थियो।’

ट्राफिक इन्जिनियर आशिष गजुरेल चक्रपथ विस्तार हुनुभन्दा अगाडि नै सबै पक्षलाई समेटेर सुरक्षित सडकको डिजाइन तयार पार्नुपर्ने बताउँछन्। कार्यक्रममा उनले भने, ‘सडक सवारीसाधनका लागि मात्रै सोचियो, अरूका लागि सोचिएन, खाली भएको ठाउँमा मात्रै फुटपाथ राख्ने चलन छ। यस्ता प्रवृत्ति त्याग्न जरुरी छ।’  

अझै बृहत्‌ छलफल गरेर मात्रै बन्ने नयाँ चक्रपथ विस्तार हुनुपर्ने उनको सुझाव छ। सरकारले पहिलो चरणमा चीन सरकारको सहयोगमा कोटेश्वरदेखि कलंकीसम्मको आठ लेनको विस्तार गरेको थियो।

तर बनाइएको यो सडक पैदल यात्रु र चालकमैत्री नदेखिएको भनी यसको चर्को आलोचना भएको थियो। दोस्रो चरणको सडक खण्ड पनि चीन सरकारको सहयोगमा सोहीअनुसार कलंकीदेखि धोबीखोलासम्मको ११.६४ किमी भाग विस्तारको काम थालिएको छ।

 काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार सडक विस्तारका लागि सबै रूख कटान गरिसकिएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.