|
महोत्तरीको बर्दिबासमा एक अन्तरक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ। तस्वीर : अजय साह

जनकपुरधाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सरल तथा छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्ने बताएकी छन्।

महोत्तरीको बर्दिबासमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणसम्बन्धी अन्तरक्रियामा उनले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न बनेका विभिन्न आयोगले गरेको कामको सम्पूर्ण स्वामित्व सरकारले लिने बताइन्।

उनले विभिन्न समयमा भूमिसम्बन्धी समस्या हल गर्न गठित आयोगको कामको स्वामित्व लिने र त्यसको आधारमा थप वैज्ञानिक तवरले सरल तथा छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा वितरणको काम गर्ने बताइन्।

उनले लालपुर्जा वितरण हुने दिन अहिले नै तोक्न नसकिने भन्दै जनताको पक्षमा निर्णय हुने स्पष्ट पारिन्।

बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुरकुमार कार्कीले बर्दिबास नगर क्षेत्रमा नापजाँच भइसकेको र तथ्याङ्क प्रविष्टि अन्तिम चरणमा रहेको बताए।

उनले नापीअन्तर्गत ९ हजार ४ सय ५९ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन भएको बताए।

उनले बर्दिबासमा सम्पूर्ण काम अन्तिम चरणमा रहेको, प्रक्रिया पूरा गरेकाहरूका लागि छिटो लालपुर्जा वितरण गर्न मन्त्री श्रेष्ठसँग आग्रहसमेत गरे।

नगरप्रमुख कार्कीले अवैधानिक तरिकाले २०५६ मा बनेको आयोगले वितरण गरेको लालपुर्जा खारेज गर्नुपर्ने माग गरे।

वर्षौंदेखि एउटा किसानले जोतिरहेको जमिनलाई त्यस बखतको आयोगले 'रकम चलखेल'मा अरुलाई नै जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको भन्दै उनले त्यस्तो लालपुर्जा खारेज गर्न माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.