|

गुल्मी :  इश्मा गाउँपालिकाका कर्मचारीहरूले कार्यालय समयभन्दा बाहिर काम गरेको भन्दै घण्टाको आधारमा प्रोत्साहन भत्ता लिएको रहस्य खुलेको छ।

गत आर्थिक वर्षको वैशाखदेखि असार मसान्तसम्म तीन महिनाको अवधिमा झण्डै ३५२ घण्टा अतिरिक्त कार्य गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्ती र लेखा प्रमुख अशोक खड्काले १ लाख ५ हजार ८२५ रुपैयाँ लिएका हुन्।

यस्तै, कार्यालयमा काम गर्ने अन्य कर्मचारीहरूले पनि प्रोत्साहन भत्ता पाएता पनि आफूहरूलाई कामको आधारमा नभएको गुनासो गरेका छन्।

पहुँचको आधारमा ठूलाबडाहरूले धेरै रकम लिएको र दिनरात खटिएर काम गर्ने अन्य कर्मचारीहरूलाई उपयोग मात्र गरिएको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।

कतिपय कर्मचारीहरूले आफूहरूको असन्तुष्टि रहेको भन्दै प्रोत्साहन भत्ता नलिएको बताउँदै आएका छन्।  वैशाखमै आएका लेखा अधिकृतले पनि १ लाख ५ हजार ८२५ रुपैयाँ लिँदा वर्षभरि काम गरेका  नगर प्रहरीले भने ८५० रुपैयाँ पाएका छन्।

राजा र रैतीको जस्तो व्यवहार भयो

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले कर्मचारीहरू माथि राजा र रैतीको जस्तो व्यवहार भएको बताएका छन्।

कामको आधारमा नभई पहुँचको आधारमा रकम लिएको जस्तो देखिएको र त्यो उपयुक्त नभएको उनी बताउँछन्। उनले पनि  ८७ हजार ४६५ रुपैयाँ लिएका छन्। उनले वैशाखदेखि असार मसान्तसम्म  कार्यालय समयबाहेक झण्डै २९२ घण्टा  काम गरेको देखिन्छ।

आफूले बुझेको रकम पनि आफैँलाई धेरै लागेको उनी बताउँछन्। अन्य सबै कर्मचारीहरूलाई  मिलाएर लैजाऊँभन्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले सबैलाई मिलाइसकेका छौँ तपाईं चिन्ता नगर्नुस् भनेर आफूलाई जवाफ दिएको महतले बताए।

सोही समय अवधिमै कार्यालयमा कार्यरत कर्मचारीहरूले काजसमेत लिएको र प्रोत्साहन भत्ता पनि लिएको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।

कार्यविधिअनुसार नै लिएका हौँ

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले आफूहरूले गाउँपालिकाले तयार पारेको  कार्यविधिअनुसार नै प्रोत्साहन  भत्ता लिएको बताएका छन्।

काम गर्दा केही गल्ती भएको हुन सक्ने भन्दै उनले गल्तीलाई महशुस गर्ने सजाय भोग्न परे पनि तयार रहने बताए। उनी हाल पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्।

वैशाखदेखि लागू हुने गरी गाउँपालिकाले तयार पारेको कार्यविधिमा कार्यपालिकाको कार्यालयमा काम गर्ने अधिकृतस्तरको कर्मचारीले प्रतिघण्टा ३०० लिन पाउने उल्लेख छ।

सहायकस्तर चौथो, पाचौँ वा सोसरह वा वडा कार्यालयमा खटिने अधिकृतस्तरलाई समेतलाई प्रतिघण्टा २०० र श्रेणीविहीन कर्मचारीलाई प्रतिघण्टा १०० रुपैयाँका दरले लिन सक्ने गरी कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने  कार्यविधि तयार छ।

वास्तविक बुझ्न समिति गठन

यता, गाउँपालिकाका  अध्यक्ष लक्ष्मण विष्टले यसको बारेमा छानविन समिति गठन गरेको बताएका छन्। कर्मचारीहरूले बदमासी गरे भन्ने सूचना आफूकहाँ आएकाले वास्तविक सत्यतथ्य बुझ्नका लागि समिति गठन गरिएको बताए।  छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै अन्य कुरा भन्न सकिने उनले बताए।

छानबिन समिति नै निदायो

साउन २५ गते गाउँपालिकाले गठन गरेको छानबिन समिति  आफैँ निदाएको छ। छानबिन समिति गठन गरेको  झण्डै ३ महिना पुग्दासमेत समितिले अहिलेसम्म केही प्रक्रिया थालेको छैन।

गाउँपालिकाको लेखा समितिका संयोजक भोला सिंह थापाको संयोजकत्वमा वडा-३ र ४ का वडा अध्यक्षले सहजीकरण गर्ने गरी बनेको समितिले केही पनि काम नगरेको  समितिका सदस्य तथा वडा-४ का वडा अध्यक्ष गनु अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.