|

जारी सिजनलगातार खराब प्रदर्शनबाट गुज्रिएको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगमा अर्को खराब नतिजालाई निरन्तरता दिएको छ। सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३-० को अग्रता लिनका बाबजुद टोली ३-३ को बराबरीमा रोकियो।

गत साता प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि लयमा फर्कन प्रयासरत टोलीले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो। युवा फरवार्ड अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गर्दा १८ औं मिनेटमा सर्जियो बुस्केट्सले अग्रता दोब्बर पारे। ३४ औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिसले गोल गर्दा बार्सिलोना पहिलो हाफमानै ३ गोलको अग्रता लिन सफल भयो।

दोस्रो हाफमा घरेलु टोलीले सानदार पुनरागमन गर्‍यो। चोटका कारण फाती दोस्रो हाफमा मैदान उत्रेनन्। बार्सिलोना केही रक्षात्मक भएको फाइदा उठाउँदै इयागो आसपासले ५२ औं मिनेटमा पहिलो गोल गरे। ७४ औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडरमार्फत गोल गरे। इन्ज्युरी समयको छैटौं मिनेटमा आसपासले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै बार्सिलोनासँग अंक खोसे।

बार्सिलोनाले लिगको पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको छैन। बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा छ। कोम्यानको बर्खास्तीपछि सर्जी बार्जुआनले कार्यवाहक प्रशिक्षकको जिम्मेवारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.