|

हेटौंडा : विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आइतबार संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको विवेकशील साझाको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले साबिक मन्त्रालयहरू फुटाएर जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकोले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन नसक्ने जनाएको छ।

भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिन जाने हुँदा उक्त कार्य नगर्न सरकारलाई खबरदारी गर्ने समेत निर्णय गरेको दलको नेता पौड्यालले जानकारी दिए।

उनले प्रदेश सभामा सुरुवाती दिनदेखि खेल्दै आएको रचनात्मक प्रतिपक्षको भूमिकालाई आगामी दिनमा दलले अझै प्रभावकारी रूपमा निरन्तरता दिनेसमेत निर्णय गरेको बताए।

सोमबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन्। चार दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेको जनाएका छन्।

एक सय नौ प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनको लागि ५५ सांसदको बहुमत चाहिन्छ। पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाको समर्थन छ।

उनी यी दलको ५९ सांसदको हस्ताक्षरबाट मुख्यमन्त्री बनेका थिए। विवेकशील साझा गठबन्धन दल बाहिरको भएकोले उसले मत नदिएपनि पाण्डेले सजिलै मत पाउने देखिन्छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.