|

काठमाडौं : सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन्।

इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ।

जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरू इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका छन्। यद्यपि, प्रधानन्यायाधीशले भने मुद्दा हेरे। उनले एउटा मुद्दा तामेलीमा राख्दै अर्को मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन्।

यस्तै, अर्को एक मुद्दा भने हेर्न नमिल्ने सूचीमा राखिएको छ। जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका थिए। यसअघि असन्तुष्ट न्यायाधीशसँग भएको छलफलका आधारमा जबराले बन्दी प्रत्यक्षीकरणका रिट मात्रै पेसीमा राख्ने गरेका थिए।

मंगलबारको पेसीमा १० वटा इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आफूलाई मात्रै एकल इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूलाई भने उनले संयुक्त इजलासमा पेसी तोकेका थिए।

मंगलबारको पेसीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडाल, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठ, तेज बहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको हो।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन चरणबद्ध आन्दोलनमा उत्रिएकाे छ भने सर्वोच्चका न्यायाधीशहरू पनि इजलास बहिष्कार गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.