|

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्रा खोजेर आफूखुशी काम नगर्न बैंकहरूलाई सचेत गराएका छन्।

मंगलवार काठमाडौंमा नेपाल बैंकर्स संघको अधिवेशनमा गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गरी आफूखुशी काम नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन्।

उनले बैंकहरूले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। उनले बैंकहरूले त्यसरी काम गरे वित्तिय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरूलाई सजग गराए।

बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्नसमेत आग्रह गरे। बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै गर्भनर अधिकारीले बैंकहरू प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा भएपनि अस्वस्थ प्रतिस्पर्धा भएको बताए। 

बैंकर्स संघको अध्यक्षमा उपाध्याय

यस्तै नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन भएका छन। संघको ३५ औं वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई उपाध्यक्षमा चयन गरेको हो।

संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएका छन्।

सदस्यहरूमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली, नेपाल एसबीआई बैंकका कार्यकारी अधिकृत दीपककुमार देव, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा चयन भएका छन्।

यस्तै संघको सल्लाहकारहरूमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना चयन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.