|

काठमाडौं :  पछिल्लो समय कोरोना भाइरसको संक्रमण केही मत्थर देखिएको छ।

अहिले निजी तथा सरकारी सबै कार्यालय, यातायातदेखि उद्योग र कलकारखानालगायत स्कुल तथा कलेजसमेत सञ्चालनमा आइसकेका छन्।

अहिले विद्यालय सामान्य अवस्थामा जस्तै सञ्चालन हुन थालेका छन्।

समुदायमा संक्रमण घटे पनि कोरोना विरुद्धको खोप हालसम्म नपाएकाले बालबालिकाहरू संक्रमणको उच्च जोखिममा विद्यार्थी नै छन्।

यस्तो अवस्थामा विद्यालयमा बालबालिकालाई संक्रमणबाट जोगाउन सकभर खाजा, पानीलगायत घरबाटै पठाउनु पर्ने बताउँछन् बालरोग विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल।

कोरोना जोखिम न्यून गर्न विद्यालयले के गर्ने?

डा पौडेलका अनुसार अहिलेको अवस्थामा सबैभन्दा पहिला विद्यालय सञ्चालक र शिक्षकले विद्यालयले बालबालिकाको सुरक्षाका लागि न्यूनतम पूर्वाधार (फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा खेल्ने कोठा आदि) को व्यवस्था भएको कक्षा कोठामा अध्यापन गराउने व्यवस्था मिलाउनु पर्छ।

त्यस्तै, स्वास्थ्य र सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर तथा विद्यालय आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्नुपर्छ। ‘पर्याप्त रूपमा हावा खेल्ने कोठामा र कक्षा कोठामा दूरी कायम गरेर अध्यापन गराउनु पर्छ, जसले गर्दा संक्रमणको जोखिम अलि कम हुन्छ,’ उनले भने।

यस्तै विद्यालयले सामान्य लक्षण देखिएका बालबालिका भए विशेष सावधानी अपनाउनु पर्ने समेत उनले बताए।

अभिभावकले अपनाउनु पर्ने सावधानी

अहिलेको अवस्थामा अभिभावकले सकेसम्म बालबालिकालाई विद्यालय पठाउँदा घरमै बनाएको खाजा तथा खाने पानी घरबाटै पठाउनु पर्ने डा पौडेलले बताए।

‘सकभर अभिभावकले बालबालिकालाई घरबाटै खाजा पठाउने गर्नु पर्छ, कतिपय बालबालिकाले खाजा र पानी साथीहरूबीच बाँडेर खाने गर्छन्, त्यसैले उनीलाई यस्तो नगर्न अभिभावक र शिक्षक दुवैले राम्रोसँग सम्झाउनु बुझाउनु पर्छ,‘ उनले भने।

बालबालिकाले पालना गर्नु पर्ने सावधानी

विद्यालयमा विभिन्न ठाउँबाट आएका बालबालिका समूहमा बस्ने हुँदा मास्क अनिवार्य लगाउनु पर्ने उनले बताए।

खाजा खाने बेलामा सकेसम्म खुला ठाउँमा बसेर खाने बानी गर्नु पर्ने, खाजा खानुअघि राम्रोसँग हात धुनु पर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.