|

काठमाडौं : ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन।

आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० ले पराजित गरी फाइनलमा स्थान बनाउँदा राष्ट्रिय लिगका लागि योग्य भएको हो।

ललितपुरको जितमा कप्तान निर्मला विकले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुबै टोलीले आकर्षक खेल खेलेका थिए।

पहिलो हाफमा पछि परेपछि आक्रामक खेलेको कन्काईले केही राम्रा अवसर खेल अवधिमा सिर्जना गरे पनि सदुपयोग गर्न चुकेको थियो।

प्रतियोगिता अन्तर्गत आजै सम्पन्न दिनको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा कैलालीकै गौरीगंगा नगरपालिकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै धनगढी पनि राष्ट्रिय लिगका लागि छनोट भएको छ।

सुरुआतबाट नै दबाब दिएर खेलेको धनगढीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै ललितपुरसँगको भिडन्त पक्का गरेको हो।

३१ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले पाँच लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले तीन लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.