|

सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।

केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।

अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमाडौं फर्किएका कार्कीले नवलपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक पक्षले एकथरी र अर्को पक्षले अर्कैथरी कुरा गर्दा निर्वाचन गराउन गाह्रो परेकाले राजीनामा दिएको बताए।

जिल्ला सभापति नागेन्द्रकुमार राय पार्टीका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्वजिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। आगामी निर्वाचनमा उनीहरू नै जिल्ला सभापतिका दाबेदार देखिन्छन् भने पालिका तथा वडा स्तरमा पनि उनीहरूकै समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ।

सर्लाहीमा कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणदेखि नै दुई समूहबीच चर्को विवाद देखिँदै आएको छ। अधिवेशनको संघारमा आएर दुई पक्षबीचको विवाद झनै बढेको छ। दुवै समूहले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै आइरहेका छन्।

पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई कामै गर्न नदिएको आरोप लगाएका छन्। निर्वाचन अधिकृतले जिल्ला सभापतिको दबाब खेप्न नसकेर राजीनामा बुझाएको रायको भनाइ छ। उनले भने, ‘सभापतिले (निर्वाचन अधिकृत)लाई कामै गर्न दिनुभएन, मैले भनेको गर नत्र जहाँबाट आएको हो उतै फर्के हुन्छ भनेपछि अधिकृत कार्की राजधानी फर्किए।’

जिल्ला सभापति नागेन्द्रकुमार रायले भने पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षले निर्वाचन अधिकृतलाई काम गर्न नदिएर राजीनामा दिन बाध्य पारेको बताए। पूर्व जिल्ला सभापति राय पक्षले निर्वाचन अधिकृतको सचिवालयमा आफू निकट शिक्षकहरू राखेर काम गर्न निर्वाचन अधिकृतलाई दबाब दिएको जिल्ला सभापति रायको आरोप छ।

आफूले पार्टीको शुभेच्छुक संस्था प्राध्यापकसँग कानुनव्यवसायी, पत्रकार लगायतलाई निर्वाचन अधिकृतको सचिवालय र निर्वाचन अधिकृतको रूपमा खटाएर निष्पक्ष निर्वाचन गराउन खोज्दा पनि पूर्व पार्टी सभापति राय पक्षले त्यसलाई अस्वीकार गरेको जिल्ला सभापति रायको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.