|

पर्सा : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै उच्च अदालत बार एसोसिएशन वीरगन्ज पनि आन्दोलनमा उत्रिएको छ।

न्यायालयभित्रको न्यायिक शुद्धीकरणको माग गर्दै उच्च अदालत बार एसोसिएशन वीरगन्ज पनि आन्दोलनमा उत्रिएको हो।

बार एसोसिएशनका अध्यक्ष प्रमोदप्रसाद साहको अगुवाइमा यहाँका कानुन व्यवसायी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको मूल गेटमा धर्नामा बसे। हातमा कालो पट्टी बाँधी अहिले ११ बजेबाट १२ बजेसम्म एक घण्टा उनीहरू धर्नामा बसेका थिए।

अदालतको गेटमा बसेका उनीहरूले तीन दिनसम्म धर्नालाई निरन्तरता दिने बताए। ‘नेपाल बार एसोसिएशन केन्द्रको सर्कुलरअनुसार मुलुकभरका अदालतमा झैँ हामी पनि ११ बजेबाट १२ बजेसम्म तीन दिन धर्नामा बस्नेछौं’, अध्यक्ष साहले भने।

न्यायालयभित्रको गलत क्रियाकलापको शुद्धीकरणको माग गर्दै बाध्यतावश आफूहरू आन्दोलनमा उत्रिन परेको उनीहरूको भनाइ छ।

जिल्ला बार एकाइ पनि धर्नामा

पर्सा जिल्ला अदालतको मूल गेटमा पनि पर्सा बार एशोसिएसन एकाइले एक घण्टा धर्ना दिएको छ। न्यायिक संस्था हाँक्ने गलत पात्रको विरुद्धमा धर्नामा बस्न बाध्य भएको पर्सा बार एकाइले जनाएको छ।

‘संस्थाप्रति हाम्रो अनादर होइन तर संस्था हाँक्ने गलत पात्रका विरुद्ध आन्दोलनमा उत्रनु परेको हो’, पर्सा बारका पूर्वअध्यक्ष पन्नालाल गुप्ताले भने। न्यायालयलाई चरम भ्रष्टाचारको अखडा बनाउने र त्यहाँभित्र बेथिति सृजना गर्ने काम नहोस् भनी कानुन व्यवसायी पनि उत्रनुपरेको पर्सा बारका अर्का पूर्व अध्यक्ष राजनाथ ठाकुरले बताए।

न्यायालयभित्रका बेथिति न्यूनीकरण होस् र न्यायालयको गरिमा उच्च होस् भन्ने बाहेक आफूहरूको अर्को माग नभएको उनको भनाइ छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.