|
विराटनगरमा विरोध प्रदर्शन गर्दै कानुन व्यवसायी। तस्वीर : सुजता लिम्बू

विराटनगर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै उच्च अदालत विराटनगर र मोरङ अदालत परिसरमा कानुन व्यवसायीले धर्ना दिएका छन्।

उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता र अधिवक्ताले धर्ना दिएका हुन्।

विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका थिए।

उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताको नेतृत्वमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै कानुन व्यवसायीले एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए।

‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लगायत नारा लगाएका थिए।

उच्च अदालत बार एसोसिएसन विराटनगरको सचिव अधिवक्ता कला त्रितालले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध अभियानस्वरूप धर्नामा बसेको बताइन्।

न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा उनले जोड दिइन्।

कानुन व्यवसायीमाथि प्रहरी दमन र प्रधानन्यायाधीशको विकृति र विसंगतिविरुद्ध ३ दिन लगातार १/१ घण्टा विरोध प्रदर्शन गर्ने दुवै बार एसोसिएसनले तय गरेको सचिव प्रेमकुमार घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.