|

चिसो मौसम सुरु भइसकेको छ। हिमाली जिल्लाका कतिपय ठाउँको तापक्रम माइनसमा पुगिसकेको छ भने पहाडी जिल्लामा पनि घाम लागेको समयबाहेक निकै चिसो बढेको छ। यही बेलामा तराई क्षेत्रमा पनि तुवाँलो लाग्ने भएकाले धेरै चिसो हुन्छ।

चिसो मौसममा अन्य बेलाभन्दा बालबालिकाहरू बढी जोखिममा हुन्छन्। मौसम परिवर्तनको बेलामा बालबालिकामा आउन सक्ने समस्याबारे थाहाखबरकर्मी संजय रेग्मीले पर्वत अस्पतालका बाल रोग विशेषज्ञ डा. कुशल बरालसँग गरेको कुराकानी :

मौसम परिवर्तनको बेलामा बालबालिकामा आउन सक्ने स्वास्थ्यसम्बन्धी जोखिम के के हुन?

सामान्यतः यो बेलामा सिजनल भाइरल फ्लु‚ जसलाई हामी मौसमी रुघाखोकी भन्ने गर्छौँ, सबैभन्दा बढी समस्या यसैको हो। भाइरसका माध्यमबाट फैलिने यसले श्वासप्रश्वास प्रणालीमा असर गर्दछ। जुन धेरै बालबालिकामा देखिएको समस्या हो। सिँगान बग्ने, खोकी लाग्ने र ज्वरो आउँछ। त्यो बेलामा खान मन नलाग्दा बालकबालिकाहरू शिथिल बन्छन्। ज्वरो २/३ दिनसम्म रहन सक्छ, खोकी अलि लामो समय लाग्न पनि सक्छ। अर्को छालामा डाबर पनि देखा पर्न सक्ने, कहिलेकाहीँ ज्वरो र कामज्वरो आउने समस्या पनि देखिन सक्छन्।

तपाईँले भन्नुभएका समस्या आउन नै नदिन के के सावधानी अपनाउन सकिन्छ?

बालबालिकाहरू बाहिरी वातावरणमा धेरै चल्ने र भुइँमा धेरै खेल्ने स्वभावका हुन्छन्। उनीहरूलाई सफा ठाउँमा राख्ने, बेलामा नुहाइदिने, सरसफाइका कुराहरू सिकाउनुपर्छ। चिसो तथा फ्रिजमा राखिएका खानेकुराहरू खान दिनु हुँदैन। चिसो पानीमा खेल्न दिनु भएन, न्याना कपडा लगाइदिने, बिहान र बेलुकाको समयमा बढी चिसो हुने भएकाले मोजा लगाएर जुत्ता लगाइदिने, टाउको र कान ढाक्ने गरी टोपी लगाइदिने, तातो र झोलिलो खानेकुराहरू खान दिने, सानो बालबालिकाको आमाहरू सकेसम्म चिसोबाट बच्ने लगायतको सावधानी अपनाउन सकिन्छ।

समस्या आइहालेमा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि खाने वा घरेलु उपचार गर्नुपर्छ। वयस्कभन्दा बालबालिकाहरूको प्रतिरक्षा प्रणाली निकै कम हुन्छ। जसका कारण सामान्य अवस्थामा पनि स्वास्थ्यसम्बन्धी जटिलता देखा पर्छ।

चिसोको बेलामा अलि बढी देखिने गरेको स्वास्थ्य समस्या के हो?

श्वासप्रश्वासको समस्या अलि बढी देखिन्छ। बालबालिकालाई रुघा सार्ने काम वयस्क मान्छेबाट नै भइरहेको हुन्छ। हामी बिरामी भएको बेलामा पनि बालबालिकालाई काखमा लिने र म्वाइँ खाने चलनले जोखिम बढाउँछ। त्यसैले मास्क लगाएर बालबालिकाको सम्पर्कमा जाने, साबुन पानीले बेला बेलामा हात धुने गर्नुपर्छ। बालबालिकाको आडमा बसेर चुरोट खानु हुँदैन। बालबालिकाहरूलाई धुलो‚ धुवाँ भएको ठाउँमा राख्नु हुँदैन। कोठा खुल्ला हुनुपर्छ।

यो बेलामा निमोनियाको समस्या पनि अलि बढी नै भएको पनि देखिन्छ नि?

सूक्ष्म ब्याक्टेरियाहरू चिसोको बेला बढी फैलिन्छन्। यही बेलामा बालबालिकाहरू ब्याक्टेरियाको सम्पर्कमा पुग्छन्। ब्याक्टेरियाका कारण बिस्तारै श्वासप्रश्वासमा समस्या देखा पर्दै निमोनियाको अवस्था आउँछ। निमोनिया भएको बेलामा फोक्सोमा समस्या हुन्छ। फोक्सोमा भएका स–साना नलीहरूमा पानी बसेको अवस्था नै निमोनिया हो।

बालबालिकालाई ज्वरो, खोकी, श्वासप्रश्वास छिटो हुने, खान मन नलाग्ने, लुसो बन्ने अवस्था आए निमोनियाको जोखिम रहन्छ। यस्तो भए तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ। एक सातादेखि १० दिन जतिमा निको हुन्छ। फेरि कतिपयमा यही अवस्थामा मस्तिष्कको ज्वरो आउने, मुटुमा असर गर्ने लगायतका समस्या पनि देखिन सक्छन्।

रुघाखोकी वा ज्वरो आए घरमै के गर्न किन्?

त्यसका लागि त झोलिलो कुरा जस्तै- दालको रस, सुप, आवश्यक मात्रामा उमालेको पानी खुवाउनुपर्छ। त्यस सँगसँगै सिटामोलको झोल खुवाएपछि ज्वरो नियन्त्रणमा आउने सम्भावना रहन्छ। तर‚ धेरै ज्वरो आए नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ। धेरै खोकी लागिरहेको छ भने त्यो बेलामा बालबालिकाको लागि मह र पानी मिसाएर खुवाउनु राम्रो हुन्छ। तर‚ बालबालिका खेल्दै खेलेन, धेरै लुसो खालको बन्यो, खाँदै खाएन, पिसाब गरेको छैन भने स्वास्थ्य अवस्था झनै गम्भीर बन्न सक्छ। त्यो अवस्थामा घरेलु उपचारले होला कि भनेर कुरेर बस्नु हुँदैन।

यस्तै अवस्थामा के खानु हुन्छ? के हुँदैन?

गाउँघरमा ज्वरो वा निमोनिया भएका बेला मासु‚ अण्डा खान दिनु हुँदैन भन्ने छ। तर‚ त्यसो होइन। बालबालिकाहरू बढ्नका लागि र उनीहरूको प्रतिरक्षा प्रणाली बलियो पार्न अण्डा र मासुको आफ्नै महत्त्व छ। ज्वरो आएको बेला झन् धेरै पौष्टिक तत्त्व दिनुपर्छ। तर‚ हामी त्यो बेला खुवाउन हुँदैन भनी दिँदैनौं।

यो बेलामा दालको रस, मासुको झोल, निख्लो पानी, सुपरू दिन सकिन्छ। तर‚ बिरामी अवस्थामा रहेको बालबालिकाले हामीले सोचेको जति नखाने हुँदा पटकपटक थोरै थोरै खुवाउने गर्नुपर्छ। चिसो खाने कुराहरू आइसक्रिम, पेय पदार्थ, जुस‚ चक्लेट, बिस्कुट, चाउचाउ, चिप्स, लेज, कुरकुरेलगायतका जंक फुड दिनु हुँदैन। किनकि‚ ती वस्तुमा पौष्टिक तत्त्व हुँदैन।

गाउँघरमै उपलब्ध हुने के खुवाउन सकिन्छ?

गाउँघरमै पाइने धान, मकै, कोदो, जौं, फापर, उवालगायत हरेका खानेकुराबाट फरक–फरक तत्त्वहरू प्राप्त भइरहेको हुन्छ। त्यसमा पनि विशेषतः गेडागुडीजन्य खानेकुराहरूबाट पौष्टिक तत्त्व राम्रोसँग पाउन सकिन्छ। यही वस्तुबाट खानेकुरा बनाएर खुवाउन सकिन्छ।

बालबालिकाको प्रतिरक्षा प्रणालीलाई बलियो पार्न के के खुवाउन सकिन्छ?

सबै खालका पौष्टिक तत्त्वहरू मिलेको खानालाई नै सन्तुलित आहार भनिन्छ। खानामा कार्बोहाइड्रेट, प्रोटिन, खनिज, भिटामिन लगायतका फरकफरक परिकार एकै पटकमा तर थोरैथोरै भए पनि आएको हुनुपर्छ। तर‚ हामीले मेरो बालबालिकाले भात नै खाएन भनेर पिर मान्छौं।

दाल, गेडागुडी, फलफूल, हरिया सागपात, माछा, मासु, अण्डा, घिउलगायतमा खानेकुरामा हामीले ध्यान दिएका छैनौँ। जति बेला पनि भातमा मात्रै जोड दिँदा अन्य तत्त्वको अभाव हुन्छ। जसका कारण बालबालिकामा स्वास्थ्य समस्या देखा पर्छ। जसको दीर्घकालीन असर रहन्छ। सन्तुलित खाना मिलेन भने बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकास उमेरको अनुपातमा नहुँदा बालबालिका कमजोर हुने र उन हरेक कुरामा सक्रिय नहुने समस्या आउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.