|

वायु प्रदूषण बढ्दै गएपछि दिल्लीमा एकहप्ताका लागि सार्वजनिक बिदा दिइएको छ। दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालले समस्या समाधान गर्न एक हप्ताका लागि स्कुल बन्द गर्ने, निर्माण गतिविधिमा रोक लगाउने र सरकारी कर्मचारीले घरबाटै काम गर्ने बताएका छन्।

वायु प्रदूषणमा भएको वृद्धिलाई संकटकालीन अवस्थाको रूपमा व्याख्या गर्दै भारतीय सर्वोच्च अदालतले शनिबार केन्द्र सरकार र दिल्ली सरकारलाई वायुको गुणस्तर सुधार गर्न सवारीसाधनमाथि प्रतिबन्ध लगाउने र लकडाउन गर्ने जस्ता कदम तत्काल चाल्न सुझाव दिएको थियो।

​केजरीवालले प्रदूषणको उच्च स्तरलाई ध्यानमा राख्दै सोमबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने बताएका छन्। सरकारी कार्यालयका हकमा ‘वर्क फ्रम होम’ लागू गरिने र निजी कार्यालयका लागि विशेष व्यवस्था गरिने उनले बताए। निर्माण कार्य भने आइतबारदेखि नै बन्द गरिएको छ।

‘हाम्रा बालबालिकालाई घरबाट बाहिर निस्कन र प्रदूषित हावामा सास फेर्न नपरोस् भनेर हामीले सोमबारदेखि एक साता विद्यालय बन्द गर्दै छौँ’, मुख्यमन्त्रीले भने।

केजरीवालले छिमेकी राज्यहरूमा पराल जलाउँदा दिल्लीमा प्रदूषणको स्तर बढेको र समाधानका लागि सरोकारवालाहरू सबैलाई मिलेर काम गर्न आह्वान गरे।

केजरीवालले सञ्चारकर्मीसँग भने‚ ‘पछिल्ला केही दिनमा प्रदूषण बढेको छ। तथ्याङ्कअनुसार असोजको १५ गतेसम्म वायुको गुणस्तर सूचकांक १०० भन्दा तल थियो। हावा स्वच्छ देखिए पनि छिमेकी राज्यमा पराल जलाउने हुँदा प्रदूषण निरन्तर बढ्दै गएको छ।’

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.