|

पर्वत : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको प्रभावले पर्वतमा यातायात र शिक्षण संस्था ठप्प बनेका छन् भने फाट्टफुट्ट पसल खुलेका छन्।

कतिपय खुलेका शिक्षण संस्था पनि आयोजकले दबाब दिएपछि बन्द भएका छन्। बन्दका कारण सदरमुकाम कुश्मा बजार सुनसान बनेको छ। बजारमा यातायातका साधन ठप्प छन्।

पर्वत हुँदै मुस्ताङ, बागलुङ र म्याग्दीमा आवागमन गर्ने गाडीसमेत नभएका कारण बजार सुनसान छ। त्यस्तै सदरमुकामदेखि ग्रामीण क्षेत्रमा आवतजावत गर्ने जिप समेत जोखिमका कारण नचलाइएपछि यातायात सेवा ठप्प बनेको हो। सदरमुकाममा प्रहरीले सुरक्षा दिए पनि गन्तव्यमा पुग्दा क्षति हुन सक्ने जोखिमका कारण यातायात सञ्चालन गर्न नसकिएको यातायात व्यवसायीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले आवतजावत गरिरहेका गाडीलाई सुरक्षा दिएर गन्तव्यमा पुग्न प्रहरीले सहयोग गरेको बताए।

‘बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा र अन्य ठाउँमा जाने गाडी यही बाटो भएर जाने हुँदा चाप बाक्लो देखिने गरेको थियो। आज ती जिल्लाबाटै गाडी नआएको अवस्था छ’, उनले भने, ‘फाट्टफुट्ट आएका सवारीलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यमा जान सहयोग गरिरहेको छ। बजारका करिब आधाजसो पसल भने खुलेका छन्।’ अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिनु नपरेको डिएसपी बुढाथोकीले बताए।

सार्वजनिक यातायात ठप्प रहे पनि निजी सवारी भने फाट्टफुट्ट चलेका छन्। कतिपय यातायात व्यवसायीले भने भ्रष्टाचार रोक्नुको सट्टा घाटा भएको भन्दै तेलको मूल्य बढाउनु गलत भएका कारण सवारी नचलाएको बताए।

बन्दले फाइदा नगर्ने भन्दै बन्दको विरोध भइरहेका वेला कतिपय नागरिकले भने पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले सवारी चलाउन नसकिएको तथा ग्यासमा खाना बनाएर खान नसक्ने अवस्था आउन लागेका कारण बन्दमा नैतिक समर्थन रहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.