|

पाल्पा : तिनाउ गाउँपालिका–६ मस्यामका ५३ वर्षीय टीकाराम खराल बिहान सबेरै उठेदेखि राति अबेरसम्म व्यस्त हुन्छन्। उनको स्फूर्ति कुनै तन्नेरीभन्दा कम छैन।

टीकारामको तानसेन नगरपालिका–७ काजीपौवामा ‘गोरस घर जय किसान डेरी’ छ। जहाँ गाई‚ भैंसीको दुध, दही, घिउ‚ छुर्पी‚ पनिरलगायत दुधजन्य वस्तु पाइन्छ। उनी दुध खरिददेखि परिकार बनाउने र बिक्री गर्ने कामको कमाण्ड गर्छन्।

गुल्मीको अर्लाङकोट जन्मिएका उनी सानैमा परिवारसँग पाल्पा आए। गरिबीका कारण राम्रोसँग अध्ययन गर्न नपाएका उनी रोजगारका सिलसिलामा भारतको हरियाणा पुगे। त्यहाँ सात वर्ष होटलमा काम गरे। २०५१ सालमा घर फर्किए। एक वर्ष खेतीपातीमा बिताए। २०५२ भदौ १७ गतेदेखि दुध बिक्री गर्न थाले। घरमा पालेको भैंसीको दुध बिक्री गर्दा उनले सुरुमा ५५ रुपैयाँ कमाएका थिए। त्यही कमाइबाट थालेको दुग्ध व्यवसायबाट अहिले उनी करोडौं रूपैयाँको मालिक बनेका छन्।

सुरुमा घरको एक लिटर दुध बेचेका टीकारामले पछिल्लो समय छिमेकीको भैंसीको दुध समेत संकलन गर्न थाले। डुम्रे दुग्ध उत्पादक सहकारी संस्थामा दुध बिक्री गर्थे। सहकारीले विभिन्न बहानामा दुध खरिद नगर्दा बोकेरै तानसेन बजारसम्म बिक्री गर्न पुर्‍याउँथे। पैसा र सहज समय हुँदा बसमा चढेर बजार पुग्थे। नेपाल बन्द हुँदा पिठ्युमा दुधका क्यान बोकेर सदरमुकाम तानसेन बजार ल्याउने गरेको उनी सम्झिछन्।

जोतिषीलाई हात हेराउँदा टीकारामलाई तरल पदार्थको व्यापार गर्न भने। पेट्रोलियम पदार्थको व्यापार गर्न उनीसँग पैसा थिएन। मादक पदार्थ बिक्री गर्ने उनको इच्छा भएन। त्यसैले डेरी सञ्चालन गर्ने निधोमा पुगेको उनले सुनाए। २०६२ सालमा उनले तानसेनमा डेरी खोले। डेरीमा दुध किन्नेको भीड लाग्न थाल्यो। मागअनुसार दुध पुर्‍याउन हम्मेहम्मे भयो। पोखराका डेरीका कम्पनीलाई समेत बिक्री गर्न थाले। तर‚ पोखरातिर पठाएको दुधको पैसा भने समयमा हात पर्दैनथ्यो।

असोज महिनाम दुध फालाफाल भए पनि फागुनदेखि हाहाकार हुन्थ्यो। यो सिजनमा तराईबाट ल्याएर उपभोक्तालाई दुध बिक्री गरेको उनले स्मरण गरे।

दुधको व्यापार टीकारामले सोंचेभन्दा राम्रो भयो। अहिले मासिक ३० लाख रुपैयाँभन्दा बढीको दुध खरिद गर्ने गरेको उनले बताए। गाईको दुध प्रतिलिटर ७६ र भैंसीको १०० रुपैयाँमा बिक्री हुने गरेको छ। समय-समयमा मूल्य तल माथि भए पनि एक लिटरमा १० रुपैयाँभन्दा बढी नाफा हुने टीकारामले सुनाए।

अर्घाखाँचीको निगाली, तानसेनको चौनबारी, ढुंगाखानी, जोगीपानी, तिलाहार, लुहुङ, छेर्लुङ, अर्गली, रैनादेवी छहरा गाउँपालिकाको कोकलधाराबाट गाडीमा ढुवानी गरेर दुध ल्याउँछन्।। उनको व्यवसायबाट ग्रामीण भेगका एक हजारभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन्। उनले गरिब किसानलाई गाई खरिद गरेर निःशुल्क दिएका छन्। उनीहरुबाट त्यही गाईको दुध खरिद गरेर ल्याउँछन्।

गाईको दुधबाट छुर्पी

टीकारामले दुध र दुधबाट बनेका परिकार बिक्री गरेर वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएका छन्। भैंसीको दुध बजारमै बिक्री गर्छन्। गाईको दुधबाट भने छुर्पी बनाउँछन्।

भैंसीको दुधको माग बढ्दै गए पनि गाईको दुध उपभोक्ताले खान छाड्दै गए। त्यसैले उनी इलामको फुँएतप्पा पुगेर रामप्रसाद शर्मासँग छुर्पी बनाउन सिके। २०७२ सालदेखि व्यावसायिक छुर्पी उत्पादन गर्न थाले। सुरुका केही वर्षमा १७ लाख घाटा ब्यहोर्नु परे पनि पछिल्ला दिनमा छुर्पीबाट पनि मनग्य आम्दानी गर्न थालेको उनी सुनाउँछन्।

‘छुर्पी खाउँ, सूर्ती हटाउँ’ भन्ने अभियानसहित छुर्पी बनाउन थालेका टीकारामले सुनाए। उनले मासिक २० लाख रुपैयाँभन्दा बढीको छुर्पी बिक्री गर्दै आएका छन्। स्टिक छुर्पीलाई ९०० रुपैयाँ प्रतिकिलो बिक्री गर्छन्। काटेको छुर्पीलाई ११ सय प्रतिकिलोमा बिक्री हुने गरेको उनले जानकारी दिए। यहाँ उत्पादन भएका छुर्पी नेपालका ठूला सहरदेखि विदेशमा निर्यात हुँदै आएको छ। मागअनुसार छुर्पी उपलब्ध गराउन नसकेको टीकारामले बताए। उनले खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी नाफा कमाउने गरेको बताए।

सात जनालाई रोजगार

पहिले आफैं कामदार भएका टीकारामले अहिले सात जनालाई रोजगारी दिएका छन्। ती कर्माचारीहरुले १४ देखि २२ हजार रुपैयाँ मासिक तलब खाने गरेको उनले बताए। कर्मचारीलाई तलबबाहेक बस्नका लागि कोठा र दैनिक दुध निःशुल्क दिन्छन्। हप्तमा एक दिन बिदा समेत दिने गरेका छन्। डेरीमा टीकारामका श्रीमती, छोरा र बुहारीले पनि काम गर्छन्।

काजीपौवाका मानबहादुर उचै मगरले १३ वर्षदेखि यहीं काम गर्दै आएका छन्। दुबईबाट फर्किएका उनी यहाँ काम गर्न थालेका हुन्। मलेसियाबाट फर्किएका रैनादेवी छहरा गाउँपालिका–४ छहराका नारायण बहादुर रायमाझी पनि ६ वर्षदेखि यहाँ काम गर्दै आएका छन्। आफू यो जागिरबाट सन्तुष्टि रहेको बताउँछन्। भन्छन्, परिवारसँगै बसेर काम गर्न पाउँदा खुसी लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.