|

विराटनगर : सोमबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलीपकुमार राईले पथरी शनिश्चरे–४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेको भिडियो एकाएक बाहिरियो।

उक्त समीक्षा गोष्ठीमा वडाध्यक्ष भण्डारीले पालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै जवाफ मागेका थिए। उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाउन माग गरे।

उनले आफूले माग गरेको जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए। निर्देशनपछि तीनजना नगरप्रहरीले उनलाई गोष्ठीबाट निकालेका थिए।

उनले पालिकाभित्र अनियमितता भयो भनेर हिसाब देखाउन माग गर्दा नगरप्रहरी लगाएर बाहिर निकालेको गुनासो गरे। उनले भने, ‘अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एकजना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन्। पालिकामा अझै अनियमितता भइरहेको छ।’

वडाध्यक्ष भण्डारीलाई गोष्ठीबाट बाहिर निकालेपछि मात्रै कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।

के थियो विवादको कारण ?

वडाध्यक्ष भण्डारीको मोटरसाइकल मर्मतको बिल पास नभएका कारण विवाद निस्किएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए। उनका अनुसार वडाध्यक्ष भण्डारीको मोटरसाइकल मर्मतको बिल १० हजारको रहेको र आफूले तोक आदेश दिए पनि माग फारम नभरेकाले सोही विषयमा लिएर विवाद भएको थियो।

उनका अनुसार वडाध्यक्षको मोटरसाइकल मर्मतको बिल पास नभएका कारण विवाद निस्किएको थियो।

‘उहाँको मोटरसाइकल मर्मतको बिल १० हजारको थियो। मैले तोक आदेश दिएँ तर माग फारम नभरेकाले लेखाले रोकेको रहेछ’, उनले भने, ‘बैठकमा इन्धन मर्मतको हिसाब खोज्नु भयो । यसैबाट विवाद उत्पन्न भएको हो।’  

बैठक चल्न नदिएपछि बाहिर बसेर सहयोग गर्न आग्रह गरेको हो : मेयर राई

अध्यक्ष भण्डारीले बैठक चल्न नदिएपछि बाहिर बसेर सहयोग गर्न आग्रह गरेको नगरपालिकाका मेयर राईले बताए। उनले आफ्ना कुरा राखिसकेपछि पनि अरूको कुरा राख्न नदिएकाले बाहिर पठाइएको उनी बताउँछन्।

‘उहाँलाई बैठकबाट निकालिएको होइन, बाहिर बसेर सहयोग गर्नु भनेको हो’, उनले भने। पालिकाले चालु आर्थिक वर्षका लागि इन्धनमा छुट्याएको ४२ लाख, मर्मतको ३० लाख र फर्निचरको ५० लाख खर्च हुने क्रममा रहेको उनले दाबी समेत गरे।

घटनालाई  दिएर माओवादीको विरोध

वार्षिक समीक्षा गोष्ठीबाट नगर प्रहरी लगाएर निकालेका घटनाको माओवादी मोरङले विरोध गरेको छ।

माओवादीले मेयरले माफी माग्नुका साथै वडाध्यक्षले उठाएको बेथितिको विषयमा छानबिन गर्नुपर्ने माग गरेको छ। नेकपा माओवादी मोरङका संयोजक गणेश उप्रेती (सुशील) ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन्।

नगरपालिकाको सोमबार बसेको समीक्षा गोष्ठीमा वडाध्यक्ष भण्डारीले नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै जवाफ मागेपछि विवाद भएको थियो। सोही घटनालाई लिएर नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

‘समीक्षा बैठकमा वडाध्यक्षले उठाएका, नगरपालिकाको काममा भएको बेथिति, मनोमानी, अनियमितता र भ्रष्टाचारका विषयलाई छलफलको विषय बनाई त्यस विषयको समाधान खोज्नुको साटो आफूले गरेको बेथिति, मनोमानी, अनियमितता र भ्रष्टाचारका विरुद्धको आवाज दबाउने मनसायले वडाध्यक्षमाथि गैरकानुनी र हुकुमी शैलीमा बैठकबाटै नगरप्रहरी लगाएर दुर्व्यवहार गरी निकालिएको घटनामा हामी भर्त्सना गर्दछौं’, संयोजक उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा आफ्ना विषय राखेकै कारण निर्वाचित जनप्रतिनिधिमाथि अमर्यादित व्यवहार गर्ने नगरप्रमुखको शैलीका कारण सृजित घटनालाई द्वन्द्व र झडपतिर जान नदिन घटनामा संलग्न नगरप्रमुख सहितले तत्काल वडाध्यक्ष समक्ष माफी वडाध्यक्षले उठाएको विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाई समाधान गर्न आग्रह गर्दछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.