|

काठमाडौं : विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।

बंगालको खाडी र पश्चिम अरेबियाली सागरमा उत्पन्न भएको जलवायु प्रणालीले भारतका केही शहरमा भीषण वर्षा हुने र त्यसको प्रभाव नेपालमा समेत देखिन सक्नेतर्फ उनीहरूले सचेत गराएका हुन्।

विश्वको वायु प्रदूषित शहरको सूचीमा काठमाडौं अहिले बेलुकी १२ औं स्थानमा परेको छ। वायु प्रदूषण सूचक (एक्युआई) काठमाडौंमा १ सय २० मापन भएको छ।

वातावरण विभागका अनुसार स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्युआई राम्रो, ५० देखि १ सयसम्म सामान्य र १ सयभन्दा माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

यस आधारमा काठमाडौंको वायु हानिकारक भइसकेको छ।

यसैबीच अरब सागरमा बनेको निम्नचापीय क्षेत्रको आंशिक प्रभावले देशका केही भेगमा आज राति हलुका पानी पर्नुका साथै हिमाली भेगमा हिमपात हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १/२ स्थानमा हलुका वर्षाको सम्भावना छ।

यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हलुकादेखि मध्यम र बाँकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिए।

उनका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

भोलि पनि देशका केही भेगमा हलुका पानी पर्नुका साथै उच्चहिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद सापकोटाले बताए।

अरब सागरमा विकसित प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा बदली भइ चिसो बढ्ने महाशाखाले जनाएको छ।

यस्तै तुँवालो पनि लाग्न थालेकोले दृश्य दुरीमा समेत कमी आउन सक्ने भएकाले सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.