राणासँग वार्ता नगर्ने अडानसहित आगामी साताका विरोध कार्यक्रम सार्वजनिक

|
फाइल तस्वीर

काठमाडौं : कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग वार्ता गर्न अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश राणाले बारसामु वार्ताको प्रस्ताव आज पठाएका थिए। 

बारले उनीसँग वार्ता नगर्ने जनाउँदै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ।

प्रधानन्यायाधीश राणाले आज (शुक्रबार) नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्तामा बस्न पत्रमार्फत आग्रह गरेका थिए।

नेपाल बारको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा दिनुपर्ने अडान नछाड्ने र उनीसँग कुनै वार्ता नगर्ने निर्णय गरेको छ।

बैठकले प्रधानन्यायाधीशको राजीनामा नै मागिसकेकाले उनीसँग वार्ता गर्नेबारे छलफल नै नगरेको बारस्रोतले जानकारी दिएको छ।

यसका साथै बारको बैठकले आगामी आइतबार देशभरका कुनै पनि अदालतमा कानुन व्यवसायीले कुनै पनि मुद्दामा बहस नगर्नेसमेत निर्णय गरेको छ।

नेपाल बारले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक सबै दललाई आगामी सोमबार प्रधानन्यायाधीश राणाविरुद्धको आरोपपत्र र ज्ञापनपत्र बुझाउने जनाएको छ।

नेपाल बारका अनुसार प्रधानन्यायाधीश राणाको सांकेतिक विरोधस्वरुप कानुन व्यवसायीले आगामी मंगलबार देशभरि नै कुनै पनि अदालतमा मुद्दा दर्ता गर्ने छैनन्।

तर हदम्यादको अन्तिम दिन भएका मुद्दा भने दर्ता गर्न दिने निर्णय पनि नेपाल बारको बैठकले गरेको छ।

यसैगरी नेपाल बारले केन्द्रबाट बारको प्रतिनिधि पठाएर आगामी बुधबार देशभरिका उच्च अदालतमा धर्ना दिने भएको छ।

कानुन व्यवसायीले आगामी बिहीबार र शुक्रबार सर्वोच्च अदालतमा नै धर्ना दिने बताइएको छ।

आन्दोलनका यी सबै कार्यक्रमबीच सर्वोच्चमा गरिरहेको विरोध प्रदर्शन जारी राख्ने पनि नेपाल बारले जनाको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.