|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ गोलको बराबरी खेलेका छन्।

तर, लिगको साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले गोल फर्काउँदै आफ्नो टोलीलाई बराबरीमा ल्याएका थिए।

बाँकी समयमा दुवै टोलीले गोल गर्न निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो।

दोस्रो खेलमा लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले एनआरटीमाथि २–१ को जित निकाल्यो। ​मछिन्द्रलाई जिताउन दुवै गोल सुनिल बलले गरे।

खेलको १२औं मिनेटमा सुनिलले गरेको गोलसँगै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा गोल खाएको थियो।

५४औं मिनेटमा एनआरटीका एरिक विष्टले फ्रि किकबाट गोल गरेसँगै बराबरीमा पुगेको खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिलले दोस्रो गोल गरे।

कप्तानको पासमा ८०औं मिनेटमा सुनिलले ट्याप इनमार्फत विजयी गोल गरेका थिए। जितसँगै मछिन्द्रले ३ अंक हासिल गरेको छ।

मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ  भने एनआरटीले ब्रिगेड ब्वाइजको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.