|

काठमाडौं : काठमाडौं महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि २०७८’ स्वीकृत गरेको छ। मंगलबार राष्ट्रिय सभागृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो। 

आर्थिक वर्ष ०७५/०७६ मा होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागेको हो। त्यो वर्ष कोभिडका कारण होटल व्यवसाय समस्या थियो। यसकारण महानगरले आर्थिक ऐनमार्फत उनीहरूलाई ६५ कर छुट दिएको थियो। बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा हुनेछ। 

महानगरपालिका अनुसार कोष सञ्चालनका लागि महानगरपालिका प्रमुखको अध्यक्षतामा महानगरका तर्फबाट ५ जना र होटल संघ, नेपालका ४ जना गरी ९ जनाको निर्देशक समिति हुनेछ।

वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ। त्यस्तै राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ। 

कोषबाट पर्यटन क्षेत्रको प्रवर्धन हुने र व्यवसायीको सामूहिक हित हुने कार्यक्रम सञ्चालन गरिने महानगरपालिका प्रमुख शाक्यले बताए। उनले भने, ‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरूप कोष बनाएका हौँ। यसबाट करको दायरामा आउन बाँकी करदाताहरू पनि दायरामा आउनुहुन्छ र साझा हितको काममा लाग्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ।’

बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७ औं महानगर दिवस मूल समारोह समिति गठन गरेको छ। समितिका सदस्यहरूमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरू रहेका छन्।  

त्यस्तै पुरस्कार छनौट र अन्य कार्यक्रमका लागि क्षेत्रगत उपसमितिहरू समेत गठन गरिएका छन्। बैठकले डाउन सिन्ड्रोम समाज,अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कुल तथा पुन:स्थापना केन्द्र नेपाल र मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल गरी ४ वटा संस्थालाई आर्थिक अनुदान गर्ने दिने निर्णय स्वीकृत गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.