रेलेखोला आयोजना सुरू, घारखोलामा अवरोध

|

म्याग्दी : म्याग्दीका विभिन्न नदी तथा खोलामा निर्माणको चरणमा प्रवेश गरेका १८ वटा जलविद्युत् आयोजनामध्ये कुनै आयोजनाको निर्माण प्रक्रिया सुरू भएको छ भने कुनै आयोजनामा स्थानीयले अवरोध गरेका छन्।

म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी नदी र खोलामा १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनाबाट ६६२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

दुई विद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन्। विद्युत् प्राधिकरणले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ। त्यसैगरी घलेम्दी हाइड्रो लिमिटेडले पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण पूरा गरेको छ। त्यसैगरी नारच्याङको मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई परीक्षणको अन्तिम चरणमा छ। यी तीन आयोजनाबाट ४९ मेगावाट विद्युत् उत्पादन भएको छ।

तीनवटा आयोजनाबाहेक १५ वटा आयोजना केही निर्माणाधीन अवस्थामा छन् भने केही आयोजना निर्माणको चरणमा प्रवेश गरेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताए। केसीका अनुसार कालीगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीबाट समेत विद्युत् उत्पादनका लागि १५ वटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन्।

निर्माण चरणमा रहेका आयोजनामा नीलगिरि खोला हाइड्रोपावर लिमिटेडको ३८ मेगावाटको नीलगिरि जलविद्युत् आयोजना, ७१ मेगावाटको नीलगिरि २, हाइड्रो सपोर्ट प्रालिको दानामा ५३.५ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरको शिखस्थित बारखोलामा १४ मेगावाटको, हिम कन्सल्टको नारच्याङमा ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना, कालीगण्डकी हाइड्रोपावर प्रालिको दाना र नारच्याङमा १६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट ग्रुपको ४ मेगावाटको रुप्सेखोला जलविद्युत् आयोजना रहेका छन्।

त्यस्तै‚ पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिको ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना, ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, तुदी पावर कम्पनीको ३७ मेगावाटको राहुघाट मंगले‚ तुदी पावर कम्पनीको ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् र संयुक्त ऊर्जा खोला प्रालिको २१. ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण चरणमा छन्।

म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालिले २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३.५ मेगावाटको अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरू गरेका छन्।

यहाँ उत्पादित विद्युत्‌लाई राष्ट्रिय ग्रिडमा जोड्न दाना–खुर्कोट २२० केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेशन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ।

अर्बौ रूपैइँको लगानीमा निर्माण हुने यी जलविद्युत् आयोजनाका कारण म्याग्दीका सयौं व्यक्तिले रोजगारी समेत पाएका छन् भने सामुदायिक विकासको लहर समेत चलेको जनप्रतिनिधिले बताएका छन्।

६ मेगावाट क्षमताको रेलेखोला आयोजना सुरू

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्‌ गृह निर्माण सुरु गरेको हो।

आयोजनाका साइट इन्चार्ज आयुष शर्मा भट्टराईले कार्यक्षेत्रमा आएका सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम सुरु गरेको बताए। ‘आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ’, उनले भने ‘बाँध, पावरहाउस र पाइपलाइन निर्माणको काम एकैसाथ अघि बढाएका छौँ। नारच्याङको बेँसी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युत् गृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ।’

२०७५ सालदेखि सुरु भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए।

प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको रेलेखोलामा बैंकको लगानी पनि जुटेको छ। कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ। आयोजनाले उत्पादन गरेको विद्युत् ५ किलोमिटर ३३ केभी क्षमताको प्रशारण लाइन बनाएर दानास्थित २२० केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्ने योजना छ।

नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए।

नीलगिरि हाइड्रोपावरले ११० मेगावाट क्षमताको नीलगिरि पहिलो र नीलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारीमा छ। कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत् गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ।

माउन्टेन इनर्जी नेपालले मिस्त्रीखोलाको विद्युत् गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ। हाइड्रो सपोर्ट प्रालि प्रवर्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ।

घारखोला जलविद्युत् आयोजनामा अवरोध

उता अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा पूर्व सहमतिअनुसार जलविद्युत् आयोजनाले मुआब्जा नदिएको भन्दै स्थानीय बासिन्दाले काम रोकेर अवरोध गरेका छन्।

वडा नम्बर ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नति नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयले बुधबारदेखि आयोजनाको सम्पूर्ण काम ठप्प पारेका हुन्।

स्थानीयका जायज मागमा आयोजनाले बेवास्ता गरेको र पटक–पटकको ताकेतालाई समेत सम्बोधन नगरेपछि आन्दोलनमै उत्रिएर आयोजनाको सबै काम ठप्प पार्नु परेको संघर्ष समितिका संयोजक राजु बरुवालले बताए। बरुवालको नेतृत्वमा आयोजनाको निर्माण कार्य भइरहेका क्षेत्रमा पुगेका दुई दर्जन स्थानीय बासिन्दाले सुरुङमार्गमा वार लगाइदिएका छन्।

त्यसैगरी आयोजनाको स्टोर, क्रसर, सवारी मर्मत स्थल लगायत सबै ठाउँको काम ठप्प पारेका छन्। म्याग्दी हाइड्रोपावर कम्पनि प्रवर्धक रहेको यो आयोजनामा सुरुङ ब्रेकथु भएर अन्य ड्याम साइट र विद्युत् गृहतर्फको काम अघि बढेको थियो।

आयोजनाको आन्तरिक पहुँचमार्ग बिरौटाबाट कुरिलाबौरसम्म पर्ने करिब ३ किलोमिटर सडक स्तरोन्नति र यस मार्गका कारण क्षति भएकाहरूका लागि क्षतिपूर्ति तथा विगतमा वडा कार्यालय तथा मौखिक रूपमा गरिएका सम्झौता आयोजनाले कार्यान्वयन नगरेकाले दबाबमुलक आन्दोलनमा उत्रनु परेको स्थानीयको भनाइ छ।

स्थानीय बासिन्दाले आन्तरिक पहुँचमार्गलाई ग्याबिन जाली लगाएर, मेशिनरी पर्खाल लगाउने, नाली निर्माणसहित दुई लेनको बनाउनुपर्ने र आवश्यकताअनुसार, सोलिङ र ढलानसँगै कालोपत्रे गर्नुपर्ने माग गरेका छन्। आयोजनाले पहुँचमार्गको चौडाइ बढाउँदा आवश्यक पर्ने व्यक्तिगत जग्गालाई उचित मुआब्जा दिनुपर्ने, पहुँचमार्गमा पर्ने खोला खोल्सामा पुल तथा ह्युम पाइपको व्यवस्था गरिनुपर्ने माग गरेका छन्।

कुल २ अर्ब ४२ करोड लागत अनुमान गरिएको यो आयोजनामा कोरोनाका कारण आयोजना निर्माणको काम पछि धकेलिएसँगै लागत बढ्ने देखिएको आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.