|

काठमाडौं :  करिब दुई वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुग्यो। कोरोनाको संकट कम भएसँगै केही महिनादेखि  पर्यटन क्षेत्र लयमा फर्किदै थियो। 

विदेशी पर्यटक नेपाल घुम्न आउने मौसम भएकाले बाह्य पर्यटकको चहलपहल बढ्दै गएको थियो। नेपालका विभिन्न क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै थियो। पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको थियो। 

विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अन अराइभल भिसा’ व्यवस्था गरेसँगै पर्यटक आगमनमा सकारात्मक संकेत देखिएको थियो। कोभिडको नयाँ भेरियन्टले सो भिसा रोक्नुपर्ने अवस्था आए समस्या हुने पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए। लामो समय थला परेको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको बोर्डले जनाएको छ।  

क्रमशः बढ्दै विदेशी पर्यटक

लामो समय ठप्प जस्तै बनेको पर्यटकीय क्षेत्रमा क्रमशः सुधार भएको पर्यटन बोर्डले जनाएको छ। सन् २०२१ को  १० महिनामा सबैभन्दा बढी अक्टोबरमा २३ हजार २ सय ४८ जना विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डका प्रवक्ता लामिछानेले बताए। लामिछानेले भने, ‘अक्टोबरको तुलनामा नोभेम्बरमा २० देखि ३० प्रतिशत पर्यटक वृद्धि भएको छ। यसको तथ्यांक केही दिनमा सार्वजनिक गर्नेछौं।’  

जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा  ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय, अप्रिलमा २२ हजार  सय ५०, मेमा १ हजार ४ सय ६८,जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१, अगस्टमा ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ८ सय ९८,अक्टोबरमा २३ हजार २ सय ४८ विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ। 

कोभिड १९ संक्रमण सुरु हुनुअघि सन् २०१९ को सेप्टेम्बर महिनामा मात्रै ९२ हजार ६०४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका अनुसार सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए।

कोरोना संक्रमणको केही कमजोर भएको मौका पारेर गत फेब्रुअरी, मार्च र अप्रिलमा नेपालमा विदेशी पाहुनाको आगमनमा सुधार भएको थियो। त्यो आगमनमा संक्रमण बढेर लकडाउन भएसँगै मे महिनादेखि ओरालो लाग्न थालेकोमा अगस्टदेखि पुनः सुधार भएको  बोर्डले जनाएको छ। 

कोरोनाको जोखिम कम भई पर्यटनका सम्पूर्ण क्षेत्र लयमा फर्किरहेका वेला देखिएको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई फेरि ठप्प पार्ने हो कि भन्ने चिन्ता बढेको छ। दक्षिण अफ्रिकाबाट फैलिएको  कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन) विश्वका १४ मुलुकमा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नयाँ भेरियन्टले अर्थतन्त्रको मुख्य मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई ठूलो क्षति पुग्ने पर्यटन बोर्डका प्रवक्ता लामिछानेले बताए। 

८० प्रतिशत मजदुर बेरोजगार 

कोरोनाको पहिलो तथा दोस्रो लहरमा पर्यटन क्षेत्रलाई मुख्य पेसा बनाएर काम गर्दै आएका ८० प्रतिशत मजदुर बेरोजगार बनेका थिए। पर्यटन बोर्डका अनुसार क्षेत्र होटल, रेष्टुराँ, विमान सेवा, ट्राभल एण्ड टुर तथा ट्रेकिङ लगायतमा काम गर्नेहरूले पर्यटन क्षेत्र ठप्प भएसँगै रोजगारी गुमाएका हुन्।

६० प्रतिशत व्यवसायी पनि पलायन भएको बोर्डले जनाएको छ। सरकारले चैत २०७६ देखि मुलुकभर लकडाउन गरेको थियो। त्यसयता देशभरका उद्योग, कलकारखाना, लगायतका व्यवसाय बन्द भए। साथै आन्तरिक तथा बाह्य यातायात तथा उडान सबै ठप्प भए। आन्तरिक तथा बाह्य उडान सञ्चालन हुन पाएनन्। मानिसको आगमन र आवत जावतले सञ्चालन हुने पर्यटन क्षेत्र  ठप्प भयो। जसबाट पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो। 

कोभिड अगाडि २ लाख ८३ हजारले यस क्षेत्रमा रोजगारी पाएका थिए। उनी भन्छन्, ‘२० प्रतिशतले आधा तलब लिएर बसेका छन्। त्यो पनि समयमै तलब पाउने अवस्था छैन।’  यसैबीच ४ सय ७३ वटा सानाठूला होटल बन्द भए। 

जसले गर्दा होटल व्यवसायको आम्दानी पूरै ठप्प भयो। पर्यटन विभागका अनुसार ३ हजार ७ सय ४३ ट्राभल एजेन्सी, २ हजार ७ सय ९७ ट्रेकिङ एजेन्सी, ४ हजार २ सय ४१ टुर अपरेटर र १७ हजार ६ सय २६ ट्रेकिङ गाइड लगायत पूर्णरूपमा ठप्प भए। त्यस्तै ६० प्रतिशत व्यवसायीले व्यवसाय नै छोडेको बोर्डको तथ्यांक छ। 

कोभिडको समयमा रोजगारी गुमाएका  मजदुरलाई पर्यटन बोर्डले सहयोग गर्ने उद्देश्यले १० दिने रोजगारी समेत उपलब्ध गराएको थियो। 

१ खर्ब ४० अर्ब क्षति 

कोरोनाका कारण मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण अंग मानिएको पर्यटन क्षेत्रमा अर्बाै क्षति भएको छ। पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पर्यटनसँग सम्बन्धित क्षेत्र होटल, रेष्टुराँ, विमान सेवा, ट्राभल एण्ड टुर तथा ट्रेकिङ लगायतका क्षेत्रबाट मासिक १० अर्ब घाटा भएको छ।

कोरोनाको पहिलो लहरको सुरुदेखि हालसम्म १४ महिनामा ठप्प भएसँगै कुल १ खर्ब ४० अर्ब पर्यटन क्षेत्रले क्षति बेहोरेको बोर्डको भनाइ छ। त्यस्तै पाँचतारे होटलले मात्रै मासिक ३ अर्ब हाराहारीमा घाटा बेहोरेका छन्।  

थला परेको पर्यटन वर्ष

सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरेको थियो। पर्यटन वर्षका लागि सरकारले आन्तरिक तथा बाह्य तयारी पनि गरिरहेको थियो। २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। कोरोनाको संक्रमणका कारण सरकारको योजना योजनामै सीमित बन्यो।  

के होला अबको पर्यटन क्षेत्र ? 

विश्वका विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै भर्खर चलायमान बनेको पर्यटन क्षेत्रमा असर पर्ने पर्यटन व्यवसायीको आँकलन छ। बोर्डका प्रवक्ता लामिछानेका अनुसार नयाँ भेरियन्टका संक्रमित नेपालमा भेटिए भने पर्यटन क्षेत्र तत्काल उठ्न सक्ने अवस्था हुँदैन।   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.