|

काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवरी घोषणा गर्ने क्रम सुरु भएको छ।

प्रदेश सभापतिमा उम्मेदवरी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन्। हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेदवरी घोषणा गरेका हुन्।

उम्मेदवरी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ। आकांक्षीमध्ये उम्मेदवारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेदवार मानिन्छन्। उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनिसकेका छन्।

०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षको पुगे। यसअघि उनी रामचन्द्र पौडेल पक्षको रूपमा चिनिएको थियो। यद्यपि उनी सबै नेताको आफूलाई आशीर्वाद रहेको दाबी गर्छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका शर्माले आफूले कांग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताए।

त्यस्तै, कास्कीबाट नै उम्मेदवारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहकै हुन्। उनले विद्यार्थी कालदेखि राजनीति सुरु गरेका थिए भने बौद्धिक नेताका रूपमा परिचित छन्। तर, उनी सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्छन्।

उनी गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेद्वार बने पनि पराजित भएका थिए। सभापतिको उम्मेदवार घोषणा गर्दै पार्टीलाई स्वतन्त्र रूपमा अघि बढाउन र गण्डकी प्रदेशमा कांग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताए।  

त्यस्तै, तनहुँबाट उम्मेदवरी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर हुन्। तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन्। उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित शशांक कोइराला लगायतको आशीर्वाद रहेको बताए।

नेता पौडेलले कांग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताए।  

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्। उनीसँग कांग्रेसका केन्द्रीय सदस्यसँगै पर्वतको तीनपटक पार्टी सभापति भएर काम गरेका अनुभव छ।

उनले देउवा पक्षबाट उम्मेदवारी घोषणा गरका हुन्। गण्डकी प्रदेश संगठन बलियो बनाउन, कांग्रेसको पहिचान राख्न सक्ने उम्मेदवार बन्न साथीहरूले आग्रह गरेकाले अगाडि बढेको उनको भनाइ छ।

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ। कांग्रेसका नेताहरूको उम्मेदवार छनोट र  निर्वाचन आफ्नो पक्षमा पार्नेभन्दा बलियो कांग्रेस बनाउन पूर्व-सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन्।

उनले कांग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताए। कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेशन र प्रदेश प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.