स्वच्छ सुनुवाइ हुनेमा बारको स्वागत

|

काठमाडौं : नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ। सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो। 

उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन्। तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन्। 

कस्ता मुद्दा छन्? 

न्यायाधीशहरू हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा छ। उनले इजलासमा मिलापत्रको आदेश संशोधन गरी पाऊँ भन्ने कृष्णबहादुर तामाङको मुद्दा परेको छ। 

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ। जसमा बन्दीप्रत्यक्षीकरण, अंशबण्डा, फैसला बदर, हर्जाना क्षतिपूर्ति दिलाई पाऊँ, किचलो मेटाई हक कायम, अपुताली हक कायमजस्ता मुद्दा परेका छन्। 

न्यायाधीशहरू दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको छ। त्यसमा बन्दीप्रत्यक्षीकरण र अन्य विविध खालका मुद्दा रहेका छन्।  न्यायाधीशहरू हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दाको पेसी परेको छ। 

न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ।
 
न्यायाधीशहरू प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा १७ थान मुद्दा, न्यायाधीशहरू सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा  १९ थान मुद्दा, न्यायाधीशहरू तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको छ। 
    
त्यस्तै, एकल इजलासहरूमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान र न्यायाधीश कुमार चूडालको एकल इजलासमा १५ थान मुद्दामा गोला प्रक्रियाबाट पेसी तोकिएको छ। ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। 
    
कसरी तोकिन्छ?
    
सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानुनी व्यवस्था थियो। आजदेखि त्यो प्रक्रिया अन्त्य भएर गोला प्रक्रियाबाट पेसी तोक्न सुरु गरिएको छ। 

‘गोला प्रक्रियामा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रारले साप्ताहिक रूपमा पेसी तयार गरी शुक्रबार प्रकाशन गर्नुहुन्छ’, सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘मुद्दाको प्रकृतिअनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरू रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ त्यसैबमोजिम हुन्छ।’

प्रवक्ता दाहालका अनुसार कुन कुन न्यायाधीश कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ। उपस्थित सबै न्यायाधीशले गोला तान्नुहुन्छ। दुईवटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ। बाँकी गोला खाली राखिन्छ। दुई न्यायाधीश त्यहाँ रहनुहुन्छ। बाँकी न्यायाधीशको संयुक्त इजलासका लागि तय गरिन्छ।

‘जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ’‚ उनले भने, ‘बिजोर गतेका दिन जुनियरमध्येका सिनियर न्यायाधीशहरूले गोला तान्नुहुन्छ र गोलाबाट सिनियर न्यायाधीश तान्नुहुन्छ।’

यो प्रक्रियामा थैलीमा मुद्दाका लागि कदेखि क्रमशः मुद्दाअनुसार गोला राखिएको हुन्छ। संयुक्त इजलासका न्यायाधीशहरू एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ। 

श्रीलङ्का, युरोपेली मुलुकहरूमा अटोमेसन (स्वचालित) प्रणालीको प्रयोग भएको छ। नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनकै कुरा छ। अटोमेसन लागू नभएसम्मका लागि गोलाप्रक्रियबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो। 

‘स्वच्छ सुनुवाइको राम्रो अभ्यास’

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीका अनुसार अटोमेसन प्रणाली सुरु नगर्दासम्म गोलाप्रक्रियाबाट इजलास र मुद्दाको पेसी तोक्दा स्वच्छ सुनुवाइ हुन्छ। 

उनले भने, ‘प्रधानन्यायाधीशले मुद्दाको व्यवस्थापनबाट टाढा नै रहनुपर्छ भन्ने सिद्धान्त नै छ। विश्वका धेरै मुलुकमा अटोमेसनको अभ्यास छ। न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनबाटै गर्नुपर्ने छ तर उक्त प्रक्रियाको प्रारम्भ नभएसम्म गोला प्रक्रियाबाट मुद्दाको स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो।’

बारको स्वागत 

नेपाल बार एसोसिएसनले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत गोला प्रक्रियाबाट इजलास र पेसी व्यवस्थापन गर्ने कार्यको स्वागत गरेको छ। यद्यपि, बारमा आबद्ध कतिपय कानुन व्यवसायीले गोला प्रक्रिया स्वच्छ सुनुवाइको उचित मार्ग नभएको बताएका छन्। 

प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशहरूको यही मङ्सिर ८ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले आजदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो। रासस 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.