|

म्याग्दी : नेपाली कांग्रेस म्याग्दीले आसन्न महाधिवेशनका लागि गतिलो सन्देश प्रवाह गरेको छ।

केन्द्रमा गुटैगुटका कारण धमिलिएको कांग्रेसको छविलाई सुधार्न म्याग्दी कांग्रेसले अपनाएको रणनीति उदाहरणीय देखिएको राजनीतिक वृत्तका व्यक्तिहरुले बताएका छन्।

कांग्रेसको आसन्न १४ औं महाधिवेशन र प्रदेश अधिवेशनका लागि म्याग्दीबाट उम्मेदवार घोषणा कार्यक्रममा राखिएको नेपाली कांग्रेसको बेनीस्थित पार्टी कार्यालयमा भिन्न दृश्यहरु देखिएका थिए।

संविधानसभा सदस्य तथा पूर्व पार्टी सभापति रेशमबहादुर बानियाँले केन्द्रीय सदस्यका लागि र पूर्व जिल्ला सहसभापति नेत्रबहादुर महतले गण्डकी प्रदेशको उपसभापतिमा उम्मेदवारी घोषणा गरे। पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका अधिकांश नेताहरु सहभागि थिए।

भर्खरै सम्पन्न जिल्ला अधिवेशनमा पराजित भएका नेताहरूको पनि उपस्थिति थियो। पाालिकादेखि जिल्ला अधिवेशनसम्म फरक–फरक समूह बनाएर निर्वाचनमा होमिएका नेताहरूले बुधवारको उम्मेदवार घोषणा कार्यक्रमसम्म आउँदा एक भएको सन्देश दिए। पार्टी सभापति खम्बिर गर्बुजाले बानियाँ र महतलाई जिताउन अङ्गालो हालेर अनुरोध गरे।

‘पार्टीको जुनसुकै समूहबाट उम्मेदवारी दिएपनि उहाँहरू म्याग्दी कांग्रेसको साझा उम्मेदवार हुन् जिताउने जिम्मेवारी हाम्रो हो’ सभापति गर्बुजाले भने।

जिल्लामा नेताहरू पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरमा विभाजन छन्। महाधिवेशन प्रतिनिधिमा दुवै पक्षका छन्। केन्द्रमा आ–आफ्ना नेताहरूलाई जिताउन लागेपनि जिल्लाका नेताहरूलाई जिताउने सन्दर्भमा उनीहरू एक ठाउँमा उभिने संकेत गरेका छन्।

कांग्रेसका नेता तथा कार्यक्रर्ताहरुलाई एकताको सन्देश दिन पनि सभापति गर्बुजाले दुवै उम्मेदवारलाई अङ्गालो हाले। सफा मन भएका  सभापति गर्बुजामा निर्वाचनको कुनै तुष नरहेको स्थानीय नेताहरूले बताए।

कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर आगामी प्रतिनिधिसभा निर्वाचनमा आफूले बाजी मार्ने दाउँमा सभापति गर्बुजा छन्। कम्युनिष्टहरू फुटेका बेलामा कांग्रेसलाई एकताबद्ध बनाउन सके सहजै जित हासिल गर्न सक्ने गर्बुजाको आशा छ।

२०४६ सालको जनआन्दोलनबाट सक्रिय राजनीति सुरु गरेका बानियाँले २०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रीय सदस्य हँुदै २५ वर्षको उमेरमा सदरमुकाम बेनीबजार रहेको तत्कालिन अर्थुङ्गे गाविसको अध्यक्षसमेत निर्वाचित भएका थिए।

पार्टीमा दुई कार्यकाल सचिव, दुई कार्यकाल उपसभापति हुँदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व गरिसकेका बानियाँ २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार थिए। उनी २०७० सालमा संविधान सभा सदस्यमा मनोनित भएका थिए।

त्यसैगरी पोखरामा हुने अधिवेशनमा गण्डकी प्रदेश कार्य समितिको उपसभापतिमा कांग्रेसका अग्रज नेता नेत्रबहादुर महतले उम्मेदवारी दिने जनाएका छन्।

पूर्व जिल्ला सह–सभापति रहेका महतले म्याग्दीबाट कांग्रेसको सहमति र एकताको सन्देशका लागि समेत आफ्नो उम्मेदवारीले भूमिका खेल्ने बताए।

केन्द्रीय सदस्यका उम्मेदवार बानियाँ संस्थापनइतर र गण्डकी प्रदेश समितिको उपसभापतिमा उम्मेदवार बन्न लागेका महत संस्थापन पक्ष निकट मानिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.