|

बैतडी : राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ।

विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म ५ हजार ४ सय ६३ जनाको विवरण सङ्कलन गरिएको हो। जिल्ला प्रशासन कार्यालयमा उक्त कार्य जारी रहेकामा बाँकी ४ हजार १ सय ८९ पुरुष र १ हजार २ सय ७४ महिलाको विवरण सङ्कलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिए।

यसअघि सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले आफ्नो विवरण दिएर उक्त कार्यको शुभारम्भ गरेका थिए। पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम भइरहेको र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य सुरु हुने जनाइएको छ।

राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले अनिवार्य रूपमा पत्र बनाउनुपर्ने प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। विवरण सङ्कलन गरेर ल्याएपछि त्यसैको आधारमा परिचय पत्र बाँडिनेछ।

उनले भने ‚‘नागरिकता पाएकै दिन सबै कागजपत्र पेस गरेमा परिचयपत्रका लागि आवश्यक विवरण भरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाएका छौँ।’

बहुउपयोगी प्रमाणपत्रका रूपमा रहेको परिचयपत्र भएकाले अन्य परिचयपत्र साथमा राख्नुपर्ने झन्झट नहुने हुँदा विवरण दिन नहिचकिचाउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरे।

परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्तिलाई आफ्ना नागरिकता र बुबाआमाको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकताका सबै विवरणका साथै नागरिकतामा नभएका हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औँठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ।

यसरी भरेर पठाएको विवरणका आधारमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.