|

झापा : झापा जिल्लाको दुईवटा पालिकामा नौजना डेङ्गुका बिरामी फेला परेका छन्। बिर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चारजना फेला परेको पालिकाको स्वास्थ्य शाखाले बताएका छन्।

हाल उनीहरू बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन्। मनमोहन अस्पतालका डा. सुवेश सौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिए।

बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिद्धार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको छ।

उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताए। डेङ्गु रोगी देखिएलगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रूपमा लागिपरेको बताए।

मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चारजना डेङ्गुका बिरामी फेला परेका छन्। पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले सङ्क्रमित देखिएसँगै नगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताए।

उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपालि मङ्सिरमा बढी देखिएको बताए। पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ।

जमेको पानीको पहिचान गर्दै सबै पालिकाले डेङ्गुको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए। उनका अनुसार भद्रपुर, दमक, बिर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ।

उनले तराईको जिल्ला भएकाले झापा डेङ्गु रोगको उच्च जोखिममा पर्ने बताए। उनले आवश्यक परेका वेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्ने सक्ने बताए।

जिल्लामा दुई वर्षअघि डेङ्गु रोगकै कारण ५ सय बिरामी भएका थिए भने आधा दर्जनभन्दा बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ।

ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्कीमा डेङ्गुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको ठाउँमा गएर लार्भा नष्ट गर्न पालिका लागिरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.