|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयप्रति पाँच पूर्वउपकुलपतिले आपत्ति जनाएका छन्।

सोमबार विज्ञप्ति जारी गरी पाँच पूर्वउपकुलपतिहरूले त्रिभवन विश्वविद्यालय सभाले गरेको उक्त निर्णय दुर्भाग्यपूर्ण र आत्मघाती भएको ठहर गरेका छन्। त्रिवि सभाको विशेष बैठक बोलाएर उक्त निर्णय बदर गर्न विज्ञप्तिमा माग गरिएको छ।

त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन, केदारभक्त माथेमा र नविनप्रकाशजङ्ग शाहले संयुक्त विज्ञप्ती जारी गरेका हुन्। दबाबका कारण अनुचित निर्णय कुनै पनि हालतमा नगर्न उनीहरुले त्रिभुवन विश्वविद्यालय प्रशासनलाई आग्रह गरेका छन्।

‘यसबाट शिक्षाको स्तरीयताको प्रश्न उपहासको विषय भएको छ र विश्वविद्यालय सेवामा प्रवेश गर्न योग्य व्यक्तिको प्रतियोगितामा सामेल हने मौलिक अधिकार पनि हनन् भएको छ,’ विज्ञप्तिमा भनिएिको छ।

समाज र समाजको महत्वपूर्ण अङ्ग विद्यार्थीलाई समयानुकूल, समाजपयोगी स्तरीय शिक्षा प्रदान गर्नु नै विश्वविद्यालयको समाजप्रतिको प्रमुख दायित्व भएको विज्ञप्तिमा भनिएको छ।

केही दिनअघि बसेको त्रिभुवन विश्वविद्यालय सभाको बैठकले १० वर्षदेखि करारमा कार्यरत रहेका चार सय ८० कर्मचारी तथा अध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.